चर्चामा
बुटवल । लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा लुम्बिनी प्रदेशका सात प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनीले साँझ ७ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गुल्मी, रोल्पा र प्युठानका मुख्य सडकहरूमा यातायात सञ्चालन ठप्प भएको जनाएको हो ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्ड असोज ९ गते बिहानदेखि पहिरोका कारण बन्द छ । त्यस्तै, चन्द्रकोट गाउँपालिका–७ शिस्नेभीरस्थित रुद्रबेणी–वामीटक्सार सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिका–३ शृङ्गे देउरालीमा खसेको पहिरोले यातायात अवरुद्ध बनाएको छ भने रोल्पा नगरपालिका–६ लालाभाङस्थित सहिद राजमार्ग पनि शनिबार बिहानदेखि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
यस्तै, रेसुङ्गा नगरपालिका–१० सिमीचौरस्थित तम्घास–खर्ज्याङ–रिडी सडकखण्डमा दिउँसोदेखि यातायात रोकिएको छ । प्युठानको नौबहिनी गाउँपालिका–६ बाघदुलास्थित बाघदुला–बाहाने सडकखण्ड र लाखाचौरस्थित बाहाने–खबाङ सडकखण्डमा समेत पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय र सुरक्षाकर्मी परिचालित भए पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ ।
प्रहरीले पहाडी जिल्लामा पहिरो खस्ने जोखिम अझै कायम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । लगातारको वर्षासँगै सडक अवरुद्ध हुने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यातायात सेवा प्रभावित बनेको छ ।
काठमाडौँ । सरकारले कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाउने ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!