पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद्को आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद्को आपत्ति

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा बनाउन खोजिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले आपत्ति जनाएको छ।

परिषद् अन्तर्गतको मठ-मन्दिर, अर्चक तथा पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक मन्दिर भत्काउने प्रयासको विरोध गरेको हो।

विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यले जारी गरेको विज्ञप्तिमा रहिम बजारस्थित मन्दिरलाई व्यापारिक स्वार्थका लागि भत्काउन खोजिएको भन्दै यसलाई धार्मिक तथा सांस्कृतिक सम्पदामाथिको आक्रमण भनिएको छ।

स्थानीय हिन्दु समुदाय र नागरिक समाजको विरोधपछि प्रशासनले मन्दिर भत्काउने काम रोकेको छ। मन्दिर रहेको क्षेत्रलाई सिल गरी सरकारी निकाय इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड (ईटीपीबी) को नियन्त्रणमा राखिएको विज्ञप्तिमा उल्लेख छ।तर, मन्दिर भत्काउने प्रयास रोकिँदैमा समस्या समाधान नहुने परिषद्को भनाइ छ। परिषद्ले घटनामा संलग्न दोषीमाथि कारबाही गर्न र मन्दिरको पूर्ण जीर्णोद्धार गरी संरक्षण गर्न माग गरेको छ।

अध्यक्ष आचार्यले मन्दिरहरू धार्मिक आस्थाका केन्द्र मात्र नभई इतिहास, संस्कृति र सभ्यताका महत्वपूर्ण सम्पदा भएको बताएका छन्। उनले पाकिस्तानमा मन्दिरको अस्तित्व मेट्न खोज्ने व्यक्ति तथा अधिकारीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

परिषद्ले पाकिस्तानसँगै बंगलादेश, अस्ट्रेलिया, क्यानडा र अमेरिकालगायतका देशमा हिन्दु मन्दिरमाथि तोडफोड र आक्रमणका घटना भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमार्फत परिषद्ले पाकिस्तान सरकार, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलाई घटनामा ध्यान दिन आग्रह गरेको छ। साथै, विश्वभरका हिन्दु समुदायलाई धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट हुन अपिल गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP