आज देशका विभिन्न स्थानमा वर्षा र चट्याङको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशका विभिन्न स्थानमा वर्षा र चट्याङको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य केही क्षेत्रमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । यी क्षेत्रमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ ।

आज राति पनि देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि छ ।

वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ । विशेषगरी भारी वर्षा हुन सक्ने क्षेत्रमा यात्रा गर्दा तथा नदी र खोलानजिक रहँदा सावधानी अपनाउन आवश्यक छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP