चर्चामा
विराटनगर । पर्यटक भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ जना दक्षिण कोरियाली नागरिकलाई नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यु कोभेनन्ट कलेज’मा आयोजित धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रबार नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाउन काठमाडौं पठाइएको मोरङ प्रहरीले जनाएको छ।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार पर्यटक भिसामा १२ दिन नेपाल बस्ने गरी आएका उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिकामा थिए। तर, कानुनविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर शुक्रबार साँझ काठमाडौं पठाएको हो।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसारमा संलग्न हुन नपाउने कानुनी व्यवस्था छ। प्रशासनले उनीहरूको गतिविधिबारे दुई दिनसम्म निगरानी गरेको र त्यसक्रममा पर्यटक भिसाको दुरुपयोग भएको देखिएपछि नियन्त्रणमा लिइएको उनले बताए।
कोइरालाका अनुसार अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम (२) बमोजिम पर्यटक भिसाको दुरुपयोग गरेको देखिएकाले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि शुक्रबार साँझ साढे ६ बजेको जहाजबाट उनीहरूलाई काठमाडौं पठाइएको हो।
यसअघि पनि मोरङ प्रशासनले पछिल्लो एक महिनाभित्र पर्यटक भिसामा नेपाल आएर विराटनगरमा व्यापारिक गतिविधिमा संलग्न भएको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको थियो।
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!