नाना पाटेकरका पाँच फिल्म रिलिज हुन बाँकी, निधनपछि पनि पर्दामा देखिनेछन् दिग्गज अभिनेता

नाना पाटेकरका पाँच फिल्म रिलिज हुन बाँकी, निधनपछि पनि पर्दामा देखिनेछन् दिग्गज अभिनेता

मुम्बई । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको निधनपछि पनि दर्शकले उनलाई ठूलो पर्दामा देख्न पाउने भएका छन् । उनले अभिनय गरेका पाँच फिल्म प्रदर्शन हुन बाँकी छन् । हरर-कमेडीदेखि क्राइम ड्रामा र रोमान्टिक कमेडीसम्मका फिल्ममा उनको अभिनय हेर्न पाइनेछ ।

नाना पाटेकरको अभिनय रहेको ‘शक्ति शालिनी’, 'ईठा’, ‘द कन्फेसन अफ मेरी', 'कुकु की कुण्डली' र 'वेदान्त' प्रदर्शनको प्रतीक्षामा छन् । यी फिल्ममा उनले फरक-फरक चरित्र निर्वाह गरेका छन् ।

शक्ति शालिनी

आदित्य सरपोतदारको निर्देशनमा बनिरहेको ‘शक्ति शालिनी’ हरर-कमेडी विधाको फिल्म हो । म्याडक फिल्म्सको हरर-कमेडी युनिभर्ससँग जोडिएको यस फिल्ममा विशाल जेठवा पनि मुख्य भूमिकामा छन् ।

फिल्मको कथा शक्ति नामकी महिलाको वरिपरि घुम्छ, जो शालिनी नामको बदला लिने आत्मासँग जोडिन्छिन् । नाना पाटेकरको भूमिकाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि उनी तान्त्रिकको भूमिकामा देखिन सक्ने बताइएको छ । फिल्म २४ डिसेम्बर २०२६ मा प्रदर्शन गर्ने तयारी छ ।

ईठा

लक्ष्मण उतेकरको निर्देशनमा बनिरहेको 'ईठा' महाराष्ट्रकी चर्चित लोककलाकार विठाबाई नारायणगावकरको जीवनबाट प्रेरित छ । तमाशा र लावणी लोककलामा योगदान पुर्‍याएकी विठाबाईको जीवन यस फिल्मको मुख्य विषय हो ।

फिल्ममा श्रद्धा कपुर मुख्य भूमिकामा छिन् । रणदीप हुड्डा, अनन्त जोशी र नाना पाटेकर पनि फिल्ममा देखिनेछन् । यसको प्रदर्शन मिति ४ डिसेम्बर २०२६ तय गरिएको छ ।

द कन्फेसन अफ मेरी

'द कन्फेसन अफ मेरी' क्राइम ड्रामा विधाको फिल्म हो । अनन्त नारायण महादेवनको निर्देशनमा बनेको यस फिल्ममा नाना पाटेकरले फादर बेनेडिक्ट नामका क्याथोलिक पादरीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनीमाथि एक महिलाको हत्या गरेको आरोप लाग्छ ।

सन् १९६६ मा केरलामा भएको चर्चित मदथारुवी हत्याकाण्डबाट प्रेरित यस फिल्ममा आदिल हुसेन, आशिष विद्यार्थी, गौतम रोडे र नेहा महाजनलगायत कलाकारको पनि अभिनय छ ।

कुकु की कुण्डली

शरण शर्माको निर्देशनमा बनिरहेको 'कुकु की कुण्डली' रोमान्टिक कमेडी फिल्म हो । यसमा भुवन बाम र वामिका गब्बी मुख्य भूमिकामा छन् ।

कुण्डलीका कारण प्रेम सम्बन्ध र वैवाहिक जीवनमा उत्पन्न हुने समस्या तथा त्यसले परिवारमा पार्ने प्रभाव फिल्मको मुख्य विषय रहेको बताइएको छ । यसमा नाना पाटेकरको पनि महत्त्वपूर्ण भूमिका छ ।

वेदान्त

नाना पाटेकरको अभिनय रहेको अर्को फिल्म 'वेदान्त' हो । राजेश्वर पाण्डे राजको निर्देशनमा बनिरहेको यस फिल्ममा विक्रान्त मेस्सी, सन्दिपा धर र मुकेश तिवारी पनि देखिनेछन् ।

फिल्मको कथावस्तु, नानाको भूमिकाको विस्तृत विवरण र प्रदर्शन मितिबारे भने थप जानकारी सार्वजनिक भएको छैन ।

बलिउडमा आफ्नो दमदार अभिनय र प्रभावशाली संवाद प्रस्तुतिका कारण छुट्टै पहिचान बनाएका नाना पाटेकरका यी फिल्मले दर्शकका लागि उनको अभिनयलाई फेरि पर्दामा हेर्ने अवसर दिनेछन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP