टिकापुर अस्पतालभित्र कर्मचारीमाथि कुटपिट, फिजियोथेरापी विभागका कर्मचारी प्रहरी हिरासतमा

टिकापुर अस्पतालभित्र कर्मचारीमाथि कुटपिट, फिजियोथेरापी विभागका कर्मचारी प्रहरी हिरासतमा

कैलालीको टिकापुर अस्पतालभित्र एक कर्मचारीमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपित कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

अस्पतालको प्रयोगशाला विभाग प्रमुख उमेश प्रसाद बजगाईँमाथि सोही अस्पतालको फिजियोथेरापी विभागमा कार्यरत अनिल कुमार तिवारीले कुटपिट गरेको आरोप लागेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटना असार २३ गते दिउँसो करिब १ बजेर ५६ मिनेटमा अस्पताल परिसरभित्र भएको थियो। सार्वजनिक भएको सीसीटीभी फुटेजमा अस्पतालको प्रवेशद्वार नजिक उभिएका बजगाईँतर्फ तिवारी पुगेर हातपात गरेको दृश्य देखिएको छ।

घटनापछि अस्पताल प्रशासनले कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो। सोही निवेदनका आधारमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक सोधपुछ तथा अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार घटनासम्बन्धी सीसीटीभी फुटेजसमेत प्रहरीले अध्ययन गरिरहेको छ र घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रहरीका अनुसार हाल तिवारीलाई हिरासतमा राखिएको छ भने घटनाको वास्तविक कारण र जिम्मेवारी निर्धारणका लागि थप छानबिन भइरहेको छ।

यस घटनाले अस्पतालजस्तो संवेदनशील सेवास्थलभित्र कर्मचारीबीच हुने आचरण र कार्यस्थलको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP