ओलीको खप्की खाएका जगन्नाथ अझै अस्पतालमै, कामज्वरो आउन थाल्यो

ओलीको खप्की खाएका जगन्नाथ अझै अस्पतालमै, कामज्वरो आउन थाल्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती प्रदेश संसदीय दलका प्रमुख जगन्नाथ थपलिया अझै वीर अस्पतालमा उपचाररत छन्।

साउन १९ गते मध्यराति ओली निवासबाट भक्तपुरको ठिमी अस्पताल लगिएका थपलियालाई त्यहाँबाट बिहान डिस्चार्ज गरिएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि सोही दिन उनलाई वीर अस्पताल भर्ना गरिएको हो। अहिले उनलाई वीर अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ।

थपलियाका छोरा सुरजका अनुसार उनको ब्लड प्रेसर नियन्त्रणमा आए पनि सुगर अझै नियन्त्रणबाहिर रहेको छ। गुण्डुको घटनाअघि प्रेसरको समस्या नरहेको र सुगरको औषधि भने नियमित सेवन गर्दै आएको उनले बताए। घटनापछि सुगरको मात्रा ह्वात्तै बढेको परिवारको भनाइ छ।

सुरजका अनुसार थपलियालाई शुक्रबारदेखि कामज्वरोसमेत आउन थालेको छ। करिब चार–चार घण्टाको अन्तरालमा कामज्वरो आउने गरेको बताइएको छ। उनी राम्रोसँग बोल्नसमेत सकिरहेका छैनन् भने मोबाइलसमेत प्रयोग गरेका छैनन्।

चिकित्सकको सिफारिसमा शुक्रबार साँझ उनको एमआरआई गरिएको छ भने कल्चरको रिपोर्ट आउन बाँकी रहेको परिवारले जनाएको छ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वीर अस्पताल पुगेर थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

परिवारका सदस्यका अनुसार एमाले अध्यक्ष ओली भने अहिलेसम्म थपलियालाई भेट्न अस्पताल पुगेका छैनन् र फोनमार्फत समेत स्वास्थ्य अवस्थाबारे चासो नराखेको बताएका छन् !

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP