मौसम विभागको अलर्ट : भारी वर्षाले जनजीवन प्रभावित हुन सक्ने

मौसम विभागको अलर्ट : भारी वर्षाले जनजीवन प्रभावित हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सक्रिय रहेकाले वर्षाको प्रभाव बढ्ने अनुमान गरिएको हो।

विभागका अनुसार वाग्मती, गण्डकी, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेषगरी वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र मधेस तथा लुम्बिनी प्रदेशका केही स्थान बढी प्रभावित हुन सक्ने जनाइएको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षाको प्रभाव रहनेछ।

भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

विभागका अनुसार रातिको समयमा पनि देशभर बदली रहने र विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP