धनकुटामा होटलमाथि छड्के अनुगमन : अस्वच्छ भान्सा र पुरानो तेल प्रयोग गरेको आरोपमा काफ्ले होटललाई १५ हजार जरिवाना

धनकुटामा होटलमाथि छड्के अनुगमन : अस्वच्छ भान्सा र पुरानो तेल प्रयोग गरेको आरोपमा काफ्ले होटललाई १५ हजार जरिवाना

धनकुटा सदरमुकामका होटलहरूमा गरिएको छड्के बजार अनुगमनका क्रममा गम्भीर लापरबाही भेटिएको छ।

उपभोक्ताबाट गुणस्तरहीन खाद्यवस्तु बिक्री, सरसफाइको अभाव र म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा बुधबार संयुक्त अनुगमन गरिएको हो।

धनकुटा नगरपालिका-७ हुलाक टोलस्थित होटलहरूको निरीक्षण गर्दा काफ्ले होटलको भान्सा अत्यन्त अस्वच्छ रहेको, लामो समयदेखि प्रयोग गरिएको पुरानो तेलमा खाना पकाइएको तथा खाद्य सुरक्षा सम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरेको भेटिएपछि होटललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमनका क्रममा विभिन्न होटलबाट म्याद गुज्रिएका प्याकेटबन्द खाद्य सामग्री र तयारी अवस्थामा राखिएका अखाद्य खानेकुरा समेत फेला परेका थिए। ती सबै सामग्री तत्काल जफत गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिएका छन्।

संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च तथा नेपाल पत्रकार महासंघ धनकुटाका प्रतिनिधिहरू सहभागी थिए।

टोलीले होटलहरूको भान्सा, खाद्य सामग्री भण्डारण गर्ने स्थान, सरसफाइ, मूल्यसूची, खाद्यवस्तुको म्याद, खाद्य अनुमति तथा व्यवसाय सञ्चालनका आवश्यक मापदण्डको समेत निरीक्षण गरेको थियो।

प्रशासनका अनुसार सेवाग्राहीबाट लगातार गुनासो आएपछि छड्के अनुगमन गरिएको हो। केही होटलमा मूल्यसूची नराखिएको, म्यादसम्बन्धी विवरण बेवास्ता गरिएको तथा खान अयोग्य सामग्री बिक्रीका लागि राखिएको समेत भेटिएको छ।

विशेष गरी धनकुटा जिल्ला अस्पताल आसपासका होटलमा बिरामी र कुरुवाको बढी आवतजावत हुने भएकाले सुरक्षित र गुणस्तरीय खाद्य सेवा सुनिश्चित गर्न प्रशासनले कडा निगरानी बढाएको जनाएको छ।

अनुगमन टोलीले सबै होटल व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन, म्याद गुज्रिएका खाद्य सामग्री हटाउन, भान्सा नियमित सफा राख्न, मूल्यसूची अनिवार्य टाँस गर्न र खाद्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयले यस्ता बजार अनुगमन आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP