राष्ट्रिय स्वतन्त्र पार्टीमाथि घेराबन्दी : संयोग कि सुनियोजित चक्रभ्युह ?

राष्ट्रिय स्वतन्त्र पार्टीमाथि घेराबन्दी : संयोग कि सुनियोजित चक्रभ्युह ?

केही समययता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिपरि घटिरहेका घटनाहरू सामान्य राजनीतिक उतार–चढाव मात्र हुन् त ? कि यो एउटा सुनियोजित, चरणबद्ध र दीर्घकालीन ‘प्लान’ अन्तर्गत अघि बढिरहेको चक्रभ्युह हो ?
 पछिल्ला गतिविधिहरू नियाल्दा प्रश्न गम्भीर बन्दै गएको छ।

रास्वपाबाट सुमना श्रेष्ठ र सन्तोष परियारजस्ता नेताहरूको अलगावलाई धेरैले व्यक्तिगत निर्णयका रूपमा लिए। तर राजनीतिको भित्री तहमा बुझ्नेहरूका लागि यो सामान्य संयोग थिएन। त्यसैगरी, पार्टीभित्र सुधार (रिफर्म) हुनुपर्ने माग डा. तोशिमा कार्कीले पटक–पटक उठाउँदै आएकी छन्। सतहमा हेर्दा यो वैचारिक असन्तुष्टि जस्तो देखिए पनि, पछिल्ला घटनाक्रमले त्यो माग पनि योजनाबद्ध रूपमा अघि सारिएको संकेत गर्छ।

यही पृष्ठभूमिमा जेन–जी आन्दोलनमा रास्वपासँग नजिक देखिएका पात्रहरूको सक्रियता झन् चासोको विषय बनेको छ। नयाँ पुस्ताको नाममा उठाइएको आन्दोलन, पुराना दलमाथिको असन्तोष र ‘नयाँ मिलन’को नाराले रास्वपाको आधारभूत संरचनामै दबाब सिर्जना गरिरहेको छ।

केही दिनअघि कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियाका छोरा रास्वपामा प्रवेश गर्न सक्ने चर्चा सार्वजनिक भयो। सञ्चार, राजनीति र नयाँ शक्तिको सम्भावित गठजोडले नयाँ तरंग ल्यायो। यसैबीच, पार्टी सभापति रवि लामिछाने हिरासतमा रहँदा अनेक तिकडम, आन्तरिक चलखेल र बाह्य दबाब सक्रिय रहे। तर जब रवि लामिछाने रिहा भए, उनी ‘नयाँ शक्तिहरूलाई मिलाउने’ एजेन्डासहित अचानक तीव्र रूपमा सक्रिय देखिए।

यही क्रममा काठमाडौं महानगरका मेयर बालेन शाह र रवि लामिछानेबीच घण्टौँ लामो छलफल भएको कुरा बाहिरियो। स्रोतहरूका अनुसार बालेनले जेन–जी लगायत सबै ‘नयाँ’ शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्ने सर्त अघि सारे। अझ बाहिरिएको जानकारी अनुसार बालेनले रविसँग ५० प्रतिशत ‘हिस्सा’ मागेको चर्चा पनि राजनीतिक वृत्तमा फैलिएको छ। यस्ता कुराले यो प्रक्रिया वैचारिक भन्दा बढी शक्ति–सन्तुलन र बार्गेनिङमा केन्द्रित देखिन्छ।

उता, कुलमान घिसिङ भने ‘आफ्नो अस्तित्व मेटाएर मिल्न नसकिने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यसले नयाँ शक्तिहरूबीच नै गहिरो मतभेद र प्रतिस्पर्धा रहेको संकेत गर्छ। तर paradox के छ भने, यिनै फरक धारहरू एकै पटक रास्वपामाथि दबाब सिर्जना गर्ने दिशामा उभिएको देखिन्छ।

रास्वपाभित्रैबाट पनि रवि लामिछानेमाथि ‘मिल्नैपर्ने’ दबाब बढिरहेको छ। यो दबाब स्वतःस्फूर्त हो कि योजनाबद्ध ? प्रश्न यहीँ उठ्छ। बालेन शाहले रविलाई सार्वजनिक रूपमा नछोए पनि, राजनीतिक रूपमा ‘नजिक्याइरहेको’ र आफ्नो बार्गेनिङ पावर बढाइरहेको विश्लेषण भइरहेको छ।

यदि रवि र बालेन मिले भने पनि रास्वपाका पुराना कार्यकर्ता सन्तुष्ट हुने अवस्था देखिँदैन। किनकि पार्टी ‘आन्दोलनबाट जन्मिएको पहिचान’ गुम्ने डर उनीहरूमा गहिरो छ। र, यदि नमिले भने रविलाई भित्रैबाट घात गर्न तयार समूहहरू सक्रिय रहेको चर्चा पनि उत्तिकै बलियो छ।

यसरी हेर्दा, रवि लामिछानेमाथि छिट्टै ठूलो राजनीतिक घेराबन्दी सुरु हुने संकेत देखिन्छ। यसको अन्तिम परिणाम के होला ? सम्भावना दुईवटा देखिन्छ—
पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी छिन्नभिन्न हुने मोडमा पुग्न सक्छ।
दोस्रो, पार्टी नै ‘हाइज्याक’ भई मूल उद्देश्य र नेतृत्वबाट टाढा जान सक्छ।
बालेन र कुलमान मिलेर निर्धारित ‘डिजाइन’ अनुसार अघि बढेको चक्रभ्युहमा रवि लामिछाने फस्ने खतरा बढ्दो छ। ‘रवि–मुक्त रास्वपा’ बनाउने अदृश्य प्रयासहरू विभिन्न तहबाट भइरहेको आशंका पनि यहीँबाट उब्जिएको हो।

रोचक त के छ भने, बालेनका सहयोगी भूपदेव शाहले सञ्चारकर्मीहरूसँग कुरा मिले एक मिनेटमै मिल्न सकिने अभिव्यक्ति दिएका छन्। आज उनी नै डा. तोशिमा कार्कीले उठाउँदै आएको ‘पार्टी रिफर्म’को मुद्दा खुलेर ओकलिरहेका छन्। यसले हिजो उठेका मागहरू आज किन र कसरी मुख्य एजेन्डा बन्दैछन् भन्ने प्रश्नलाई झन् बलियो बनाएको छ।

निष्कर्षमा, राष्ट्रिय स्वतन्त्र पार्टी अहिले निर्णायक मोडमा उभिएको छ। यो पार्टी या त विघटनतर्फ जानेछ, या त अरू कसैको योजनाअनुसार पुनःसंरचित हुँदै ‘हाइज्याक’ हुनेछ। रवि लामिछानेले यो चक्रभ्युह अहिले नबुझ्न सक्छन्, तर राजनीति बुझ्नेहरूका लागि अहिले देखिँदै गरेको खेल निकै गम्भीर र दूरगामी असर पार्ने खालको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बैदेशिक रोजगारीका संबेदनशिल पक्षहरु : सचेतनाको कमिले उत्पन्न स्वास्थ्य सम्बन्धि समस्याहरु
2 महिना अगाडि

बैदेशिक रोजगारीमा कमै चर्चा हुने बिषय मध्येको एउटा हो बैदेशिक रोजगारीमा रहेकाहरुको स्वास्थ्य अवस्था ...

छुटाउनुभयो कि ?

TOP