बैदेशिक रोजगारीमा कमै चर्चा हुने बिषय मध्येको एउटा हो बैदेशिक रोजगारीमा रहेकाहरुको स्वास्थ्य अवस्था । बैदेशिक रोजगारीको सुनौलो सपना देख्दै गर्दा अधिकांश नेपाली युवाहरुले काम र पैसालाई प्राथमिकतामा राखे पनि बिभिन्न कारणहरु दर्शाउदै आफ्नो स्वास्थ्यलाई भने प्राथमिकतामा राखेको पाइदैन।
बैदेशिक रोजगारीमा कठिन शारीरिक श्रम, लामो कार्यसमय, जोखिमपूर्ण कामको वातावरण, आफुले सोचे जस्तो काम र तलब प्राप्त नहुने तथा निरन्तर कार्य दबाबको सामना गर्नु पर्ने अवस्था आउन सक्छ र यस्ता समस्याहरुको बारेमा नेपालबाट आउने युवाहरु प्राय अनभिज्ञ नै देखिन्छन् । केहि गरी यस्ता समस्याहरु उत्पन्न भएमा कसरी त्यसलाई सम्बोधन गर्ने भन्ने बिषयमा प्रारम्भिक जानकारी नहुने हुदाँ कार्यस्थल तथा आवासमै पनि उनिहरुलाई तनाव व्यवस्थापनमा कठिनाई हुने गर्दछ ।
प्रवासमा हुनेहरुले सामाजिक संजालमा राख्ने गरेका आकर्षक तस्विरहरु देख्दा नेपालमा रहेका मानिसहरुको बिदेश गए पछी सजिलै पैसा कमाउन सकिने रहेछ भन्ने बुझाइ रहने गरेको छ । बैदेशिक रोजगारीमा रहेकाहरुले पनि आफ्नो कामसंग सम्बन्धित वा बैदेशिक रोजगारीमा के कस्ता कामहरु गर्नु पर्छ भन्ने तस्विर र भिडियो बिरलै राखेको पाइन्छ जसले गर्दा वैदेशिक रोजगारी भित्र लुकेका पीडा, संघर्ष र कार्य जोखिमहरूको सहि तस्वीर प्राय बाहिर आउदैन । न त उनिहरुले आफ्नो कार्यस्थितिको सत्य तथ्य नेपालमा रहेका आफन्तहरुलाई बुझाएको पाइन्छ न त आफ्ना साथीभाइहरुलाई नै ।
प्रवासमा रहेका नेपालीहरुले अत्याधिक मदिरा सेवन तथा तत् पश्चात झैँ झगडा गर्ने गरेको देखिन्छ। एकातिर कठिन शारीरिक परिश्रम अर्का तिर पारिवारिक र मानसिक तनाव अनि त्यसमाथि मदिरा सेवन जस्ता कुराहरुमा अल्झीएर श्रमिकहरुले आफ्नो स्वास्थ्यप्रति ध्यान दिन नसक्दा शुरुवाती चरणमा देखिएका स-साना समस्याहरु क्रमश बढ्दै गएर गम्भीर रोगमा परिणत हुने गर्दछ । स्वास्थ्य कमजोर भए पश्चात काममा निरन्तरता दिन नसक्दा रोजगारी पनि गुम्ने भएकोले शारीरिक समस्यासँगै त्यसको असर बिस्तारै मानसिक स्वास्थ्यमा पनि पर्न जान्छ ।
कार्यस्थलमा हुने जोखिमहरु र त्यसबाट हुने दुर्घटनाहरुको न्यूनीकरणको लागि सुरक्षित कार्य वातावरण, सुरक्षात्मक उपकरणको प्रयोग, नियमित तालिम र सजगता महत्वपूर्ण हुने गर्दछ । त्यस्तै कार्यस्थल भन्दा बाहिर हुने दुर्घटना तथा स्वास्थ्य सम्बन्धि बिषयमा भने व्यक्तिहरु स्वयं नै सजग रहनु पर्ने हुन्छ ।
अत्याधिक मदिरा सेवनले युएइमा रहेका नेपाली श्रमिकहरुमा प्राय उच्च रक्तचाप, मुटु रोग, मधुमेह, फ्याटी लिभर तथा ग्यास्ट्रिक जस्ता समस्याहरु देखिने गरेको छ । अत्यधिक मदिरा सेवनकै कारण काम गर्ने क्षमतामा ह्रास आउने, झैँ-झगडा गर्ने तथा आक्रामक व्यवहार देखाउने र सामाजिक तथा पारिवारिक सम्बन्धमा समेत यसको नकारात्मक प्रभाव पर्न गएको र यसले चिन्ता तथा मानसिक समस्या समेत निम्त्याएको देखिन्छ। त्यस्तै भारी सामानहरु उचाल्ने काम गर्नेहरु तथा ट्याक्सी ड्राइभरहरुमा भने ढाड दुख्ने समस्या व्यापक रुपमा रहेको छ ।
युएईमा हरेक महिना सरदर २३ देखि ३० जनासम्मको मृत्यु भएको देखिन्छ । यसरी मृत्यु हुने मध्ये अधिकांश श्रमिकहरुको हृदयघातको कारण मृत्यु हुने गर्दछ भने कतिपयले आत्महत्या समेत गर्दछन्। यस्ता समस्याहरु महिलाहरुमा भन्दा बढी पुरुषहरुमा देखिन्छ । त्यस्तै आत्महत्याको दर पनि पुरुषहरुमा नै बढी देखिन्छ ।
नेपालमा आश्रित परिवारहरुको सम्पूर्ण आर्थिक भार एक्लैले वहन गर्नुपर्ने अवस्था अनि आफुले पाएको दुख र आफ्नो कमजोरी देखाउन नहुने, छोरा मान्छे भएर रुन नहुने, सधै बलियो देखिनु पर्ने, असफलता स्वीकार गर्न नहुने जस्ता असान्दर्भिक सामाजिक तथा पारिवारिक अपेक्षाहरूले गर्दा पनि पुरुषहरुले आफ्नो मनका कुरा तथा आफ्नो स्थिति अरुलाई खुलेर भन्न सक्दैनन् । जसले गर्दा पुरुषहरुमा मानसिक तनाव, आत्मविश्वासको कमी र निराशा बढाउने गर्दछ र उनीहरु असहाय महसुस गरी आत्महत्या गर्न पुग्दछन् ।
प्रवासमा रहेका युवाहरुको स्वास्थ्य सुरक्षा (health safety) को बिषयमा परिवारको महत्व पूर्ण भूमिका रहने गर्दछ । परिवारले नियमित सम्पर्क मार्फत प्रवासमा रहेका आफ्ना छोरा छोरीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको अवस्थाबारे चासो राख्नु पर्दछ साथै उनीहरुलाई अनावश्यक रुपमा आर्थिक तथा भावनात्मक दबाब दिनु हुदैन । त्यस्तै केहि समस्या देखिएमा उनीहरुलाई खुलेर आफु संग कुरा गर्न प्रोत्साहित गर्नुका साथै सहि मार्गदर्शन गर्ने तथा तुरुन्तै डक्टरसंग परामर्श गर्न सुझाउनु पर्दछ ।
परिवारको माया, भरोसा र समर्थनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको आत्मबल बढाउन मदत पुग्दछ जसले गर्दा उनिहरुलाई कुनै पनि समस्याहरु आइपर्दा सहि तथा गलत निर्णयहरु छुट्याउन समेत सजिलो हुने गर्दछ। त्यस्तै प्रवासमा सकारात्मक वातावरणमा रहन तथा कार्य गर्न सकारात्मक सोच, सकारात्मक आचरण तथा सकारात्मक व्यक्ति/साथीहरु संगको संगत अत्यन्त महत्वपूर्ण हुन्छ र यसले प्रवासको बसाई सहज बनाउन सहयोग पुग्दछ ।
त्यस्तै बैदेशिक रोजगारीमा जानेहरुलाई नेपालमा दिईने अभिमुखीकरण कार्यक्रमहरुमा पनि स्वास्थ्य तथा तनाव व्यवस्थापन सम्बन्धि जानकारी प्रदान हुन आवश्यक देखिन्छ।
जहाँ रहे पनि आफ्नो स्वास्थयको बिषयमा व्यक्ति आफु नै सजग हुनु पर्दछ र प्रवासमा रहेका नेपाली श्रमिकहरूले त झन् बढी आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्दछ, साथै नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउनु तथा स्वास्थ्य जीवन शैलीको निम्ति शारीरिक व्यायाम, सन्तुलित आहार, तनावको उचित व्यवस्थापन र पर्याप्त आराम जस्ता कुराहरुमा ध्यान दिनु पर्ने देखिन्छ । (लेखक नियोग उप-प्रमुख
नेपाली राजदूतावास, अबुधाबीमा कार्यरत हुनुहुन्छ ।)
आमा हजुर उमेरले बयानब्बे पुरा समाजमा सँस्कारकाे त सुनाउनु है कुरा। पर्वतकाे जन्म हाे कर्म पर्वतम ...

प्रतिक्रिया