चर्चामा
साइबेरिया । रुसको साइबेरियामा प्लेगलगायत सङ्क्रामक रोगबारे अनुसन्धान गर्ने प्रयोगशालाकी २८ वर्षीया कर्मचारीको अज्ञात कारणले मृत्यु भएपछि घटनाबारे चासो बढेको छ । रुसी अधिकारीहरूले महामारी फैलिने जोखिम नरहेको दाबी गरे पनि मृत्युको वास्तविक कारण अझै पुष्टि भएको छैन ।
रुसको स्वास्थ्य नियामक निकाय रोस्पोत्रेब्नाद्जोरले मृतकसँग सम्पर्कमा आएका व्यक्तिमा प्लेगको संक्रमण नदेखिएको जनाएको छ । सावधानीका लागि क्वारेन्टिनमा राखिएका करिब २०० जनामध्ये ९० प्रतिशतलाई मुक्त गरिसकिएको र झण्डै पाँच हजार प्रयोगशाला परीक्षण गर्दा कुनै खतरनाक रोगजनक फेला नपरेको निकायको दाबी छ ।
डार्या सिपिलोभा नाम गरेकी ती कर्मचारीको गत शुक्रबार गम्भीर निमोनियाबाट मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । उनी प्लेगसहित विभिन्न सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानमा संलग्न थिइन् ।
मृत्युको कारण र निमोनिया गराउने रोगजनकबारे भने अझै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । रोस्पोत्रेब्नाद्जोरका अनुसार सिपिलोभाले आवश्यक खोप लगाएकी थिइन् र अनुसन्धानका क्रममा सम्पर्कमा आउने खतरनाक सङ्क्रामक रोगबाट सुरक्षित रहेको दाबी गरिएको छ ।
घटनाबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुससँग थप विवरण मागेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेहब्रेयससले घटनाबारे सार्वजनिक भएका विरोधाभासपूर्ण विवरण स्पष्ट पार्न आवश्यक रहेको बताएका छन् ।
उनले गम्भीर निमोनियाको वास्तविक कारण र सावधानीका उपाय आवश्यक पर्ने गरी कुनै रोगजनक संक्रमण भए-नभएकोबारे थप जानकारी आवश्यक रहेको बताएका छन् । सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कनका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार समयमै पूर्ण र पारदर्शी सूचना आदानप्रदान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
डब्ल्यूएचओले हाल उपलब्ध जानकारीका आधारमा सर्वसाधारणमा पर्ने जोखिम न्यून रहेको आकलन गरेको छ । तर, मृत्युको कारण पुष्टि नभएकाले घटनाबारे थप अनुसन्धान र जानकारी आवश्यक रहेको जनाएको छ ।
रुसको राष्ट्रपतीय कार्यालय क्रेमलिनले घटनाबारे स्थापित प्रक्रियाअनुसार डब्ल्यूएचओलाई जानकारी गराइएको जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारमाध्यममा आएका अधिकांश विवरण गलत सूचना भएको दाबी गर्दै अपुष्ट समाचारका आधारमा निष्कर्ष ननिकाल्न आग्रह गरेका छन् ।
यसअघि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साइबेरियामा अर्को व्यक्तिको समेत प्लेगका कारण मृत्यु भएको दाबी गरिएको थियो । तर, उक्त दाबी पुष्टि गर्ने विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन ।
रुसी अधिकारीहरूले हालसम्म घटनाबाट महामारी फैलिने जोखिम नरहेको बताउँदै सावधानीका रूपमा अपनाइएका केही स्वास्थ्य उपाय क्रमशः हटाउन थालेका छन् ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!