जापानमा जनगणना हेरफेरको आरोप, टोयामा सिटी हलमा प्रहरीको छापा

जापानमा जनगणना हेरफेरको आरोप, टोयामा सिटी हलमा प्रहरीको छापा

टोकियो । जापानको टोयामा सहरमा राष्ट्रिय जनगणनाको तथ्यांकमा हेरफेर गरी २ हजारभन्दा बढी मानिसको संख्या थपेको आरोप लागेपछि प्रहरीले सिटी हलमा छापा मारेको छ।

केन्द्रीय सरकारले तथ्यांकमा अनियमितता भएको आरोपमा आपराधिक उजुरी दिएपछि शनिबार प्रहरीले टोयामा सिटी हलमा पुगेर अनुसन्धान थालेको हो। जापानमा स्थानीय तहलाई दिइने सरकारी वित्तीय अनुदान जनसंख्याका आधारमा समेत निर्धारण हुने भएकाले जनसंख्या बढाएर देखाइएको भए सहरले आवश्यकताभन्दा बढी रकम प्राप्त गरेको हुन सक्ने अधिकारीहरूको अनुमान छ।

प्रारम्भिक अनुमानअनुसार गलत तथ्यांकका आधारमा टोयामाले करिब ६ करोड येन अर्थात् ३ लाख ७८ हजार अमेरिकी डलर बढी रकम प्राप्त गरेको हुन सक्ने बताइएको छ।

खाली घरलाई ठूलो परिवारका रूपमा देखाएको आरोप

जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार टोयामाको वास्तविक जनसंख्या सन् २०२५ मा ३ लाख ९९ हजार १९७ थियो। तर गत मेमा सार्वजनिक गरिएको जनगणनाको तथ्यांकमा भने जनसंख्या ४ लाख २ हजार १३३ देखाइएको थियो।

प्रारम्भिक अनुसन्धानमा जनगणनामा खटिएका कर्मचारीले खाली भनेर उल्लेख गरेका घरको सदस्य संख्या परिवर्तन गरी २ हजारभन्दा बढी जनसंख्या थपेको पाइएको बताइएको छ।

टोयामाका मेयर हिरोहिसा फुजीले अनुसन्धानमा नगर सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। यद्यपि वरिष्ठ अधिकारीहरूको निर्देशनमा जनसंख्या बढाएर देखाइएको भन्ने आरोप भने उनले अस्वीकार गरेका छन्। उनले उचित समयमा आफूले जिम्मेवारी लिने बताएका छन्।

तथ्यांक फर्जी गरे जेलसम्मको सजाय

जापानमा जनगणनाको तथ्यांक फर्जी गरेको प्रमाणित भए जरिवानासहित अधिकतम ६ महिनासम्मको जेल सजाय हुन सक्ने व्यवस्था छ।

घटना सार्वजनिक भएपछि जापानको तथ्यांक विभागका अधिकारीहरूले समेत असन्तुष्टि जनाएका छन्। जनगणना शाखाका निर्देशक अकिहिरो तमुराले देशकै आधारभूत र महत्त्वपूर्ण तथ्यांक संकलनमा यस्तो अनुचित व्यवहार हुनु दुःखद भएको बताएका छन्।

जापानमा प्रत्येक पाँच वर्षमा राष्ट्रिय जनगणना हुने गर्छ। पछिल्लो जनगणनाले देशमा तीव्र रूपमा घटिरहेको जनसंख्याको अवस्थासमेत देखाएको छ।

जापानमा घट्दैछ जनसंख्या

सन् २०२५ अक्टोबर १ सम्म जापानको कुल जनसंख्या विदेशी नागरिकसहित करिब १२ करोड ३० लाख रहेको थियो। यो सन् २०२० को तुलनामा २.५ प्रतिशत अर्थात् करिब ३१ लाख ७० हजारले कम हो।

पछिल्लो तथ्यांकअनुसार टोकियोबाहेक जापानका सबै ४७ प्रिफेक्चरमा जनसंख्या घटेको छ। त्यसमाथि देशको जनसंख्या वृद्ध हुँदै गएकाले जनसांख्यिक चुनौती थप गम्भीर बन्दै गएको छ। करिब १० जनामध्ये तीन जना ६५ वर्ष वा सोभन्दा माथिका रहेको तथ्यांक छ।

यस्तो अवस्थामा सरकारी अनुदान तथा स्थानीय तहको वित्तीय स्रोत निर्धारणमा जनसंख्या तथ्यांकको महत्वपूर्ण भूमिका हुने भएकाले टोयामामा भएको भनिएको हेरफेरलाई गम्भीर रूपमा हेरिएको छ। अनुसन्धानले तथ्यांक कसरी परिवर्तन गरियो र त्यसमा को–को संलग्न थिए भन्ने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
13 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP