चर्चामा
काठमाडौ ।सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई छुट नभएको भन्दै राष्ट्रका सिपाही जनताको दुःखका साथी बनेर काम गर्नुपर्ने बताए।
कोशी प्रदेशस्थित सीमा क्षेत्रको निरीक्षण भ्रमणका क्रममा असोज १६ गते पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्यान्डेटलाई अक्षरशः तथा व्यावसायिक ढंगले पूरा गर्न निर्देशन दिए।
उनले सीमा अपराधको जरासम्म पुगेर कारबाही गर्न तथा संगठनमा बसेर गलत काम गर्ने जोसुकैलाई विभागीय कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। नेपाल सरकारको सुशासनको नीति आत्मसात गर्दै उच्च अनुशासन र जवाफदेहिताका साथ काम गर्न कमाण्डर तहका अधिकृतलाई उनले निर्देशन दिए।
पौडेलले सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा अवैध चोरी–निकासी र पैठारी नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिए। प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको उनले बताए।
‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन। हामी सबै राष्ट्रका सिपाही हौँ। पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन,’ उनले भने।
उनले कुनै पनि युनिट वा कार्यालयमा नागरिकको गुनासो नआउने गरी स्रोतसाधनको समुचित परिचालन गर्न निर्देशन दिए। युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी युनिट प्रमुखले लिनुपर्ने भन्दै कमाण्डरहरू मातहतका कर्मचारीका लागि प्रेरणादायी रोल मोडल बन्नुपर्ने उनले बताए।
पौडेलले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनको पर्यायका रूपमा स्थापित भइसकेको बताए। उनले प्रत्येक कमाण्डरले आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने जोखिम र चुनौतीको तथ्यगत पहिचान गरी प्रतिकार्य योजना बनाउनुपर्ने बताए।
सीमावर्ती क्षेत्रका नागरिकसँग नियमित अन्तरक्रिया गरी विश्वास र भरोसा जित्न तथा विपद्का बेला राहत र उद्धारमा अहोरात्र खटिन उनले निर्देशन दिए।
नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले आईजीपी पौडेलको निर्देशनअनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निरन्तर काम भइरहेको बताए।
उनले मनसुनका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका क्षेत्र पहिचान गरी विपद् उद्धार सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।
कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखसँगको अन्तरक्रियामा पौडेलले नागरिकको हित, सीमाको सुरक्षा र जनअपेक्षालाई सर्वोपरि राखेर जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
उनले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि, अवैध व्यापार तथा तस्करीविरुद्ध खरो रूपमा उत्रिन र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए।
आर्थिक पारदर्शितालाई संगठनको मूल स्तम्भका रूपमा लिनुपर्ने भन्दै पौडेलले आर्थिक कमजोरीलाई संगठनले स्वीकार नगर्ने बताए। संगठनको छवि बिगार्ने कार्यमा संलग्न हुने जोसुकै पनि विभागीय कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे।
यसैगरी, उनले सीमित स्रोतसाधनको उच्चतम उपयोग गर्दै परिणाममुखी कार्यसम्पादन गर्न, परिस्थिति अनुसार बल प्रयोग गर्दा संयमता र धैर्यता अपनाउन तथा सर्वसाधारणसँग समन्वय र सद्भाव कायम गर्न निर्देशन दिए।
अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीसँगको अन्तरक्रियामा पौडेलले उनीहरूलाई संगठनसँग निरन्तर जोडिराख्नुपर्ने बताए। पूर्वकर्मचारीको अनुभवलाई संगठनको श्रीवृद्धिमा उपयोग गर्दै बहालवाला र पूर्वकर्मचारीको साझा योगदानबाट संगठनलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए।
पूर्वसशस्त्र प्रहरी कर्मचारीले स्वास्थ्य परीक्षणको व्यवस्था, नयाँ भर्नामा उनीहरूका सन्ततिका लागि कोटा, सीपमूलक तालिम तथा लागूऔषध नियन्त्रणजस्ता सामाजिक अभियानमा सहकार्य गर्नुपर्ने धारणा राखे।
यसै क्रममा पौडेलले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग भेटघाट गरे। दाङको धनौरीमा २०६१ साल असार २० गते तत्कालीन माओवादी विद्रोहीसँगको भिडन्तमा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग उनले भेट गरे।
भेटमा पौडेलले राष्ट्र र संगठनका लागि ज्यानको आहुति दिने सहिदप्रति सम्मान व्यक्त गरे। सहिदका परिवारमा पर्ने पीरमर्का र समस्या समाधानका लागि संगठन सदैव साथमा रहने उनले बताए।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!