इटहरीमा सुरु भयो 'सीप तथा रोजगार मेला', युवालाई सीपसँगै रोजगारी जोड्ने लक्ष्य

इटहरीमा सुरु भयो 'सीप तथा रोजगार मेला', युवालाई सीपसँगै रोजगारी जोड्ने लक्ष्य

इटहरी । युवालाई बजारको मागअनुसार व्यावहारिक सीप प्रदान गर्दै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि 'सीप तथा रोजगार मेला, २०८३' सुरु भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन सत्रमा थारू नृत्य तथा नौमती बाजासहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क गराउनु रहेको मन्त्रालयले जनाएको छ। मेलामार्फत युवाले आफूले सिकेको सीपअनुसार रोजगारीका अवसर पहिचान गर्न तथा आवश्यक थप तालिमबारे जानकारी लिन सक्नेछन्।

पहिलो दिन सीप प्रोफाइलिङदेखि रोजगार मिलानसम्म

मन्त्रालयका अनुसार मेलाको पहिलो दिन आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न गतिविधि सञ्चालन हुनेछन्।

यसक्रममा तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना-परामर्श सेवा सञ्चालन गरिनेछ।

त्यसैगरी, भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन गरिनेछ। श्रम बजारमा माग रहेका सीप सिकाएर युवालाई रोजगारीका लागि सक्षम बनाउने लक्ष्य राखिएको छ।

रोजगारीसँगै उद्यमशीलतामा जोड

मेला अवधिभर विभिन्न प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा र रोजगार मिलानका गतिविधि सञ्चालन हुनेछन्। साथै युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रियासमेत गरिनेछ।

मन्त्रालयले सीप भएका युवालाई रोजगारीसँग जोड्ने र सीप नभएका युवालाई आवश्यक तालिमको अवसर उपलब्ध गराउने माध्यमका रूपमा मेलालाई अघि बढाएको जनाएको छ।

युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्दै बेरोजगारी न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षासहित आयोजना गरिएको मेलाले स्वदेशमै अवसर खोजिरहेका युवाका लागि रोजगारदाता र तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गर्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
14 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP