चर्चामा
काठमाडौं । वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि नेपालका हजारौँ सरकारी वेबसाइट तथा बैंकिङ क्षेत्रका अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएका छन्। सम्भावित साइबर आक्रमणबाट सरकारी तथा वित्तीय क्षेत्रका तथ्यांक सुरक्षित राख्न पूर्वसावधानीस्वरूप वेबसाइटहरू बन्द गरिएको हो।
पीएचपी फाउन्डेसनले गत अक्टोबर २१ मा आफ्नो प्रणालीमा दुईवटा गम्भीर सुरक्षा कमजोरी सार्वजनिक गर्दै त्यसको समाधानका लागि सुरक्षा अद्यावधिक जारी गरेको थियो। उक्त कमजोरीको दुरुपयोग भए ह्याकरले सम्बन्धित सर्भरमा अनधिकृत पहुँच बनाएर संवेदनशील सूचना चोरी गर्न तथा प्रणालीमा आफूखुसी कोड सञ्चालन गर्न सक्ने जोखिम रहेको छ।
नेपालमा अधिकांश सरकारी वेबसाइट एउटै साझा प्रणालीबाट सञ्चालन हुँदै आएका छन्। त्यसैले सुरक्षा जोखिम देखिएपछि विभिन्न मन्त्रालय, विभाग, आयोग तथा सरकारी कार्यालयका वेबसाइट एकैपटक अस्थायी रूपमा बन्द गरिएका हुन्। नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट तथा राजस्व अनुसन्धान विभागअन्तर्गतको मालवाहक सवारीसाधन ट्र्याक गर्ने भीसीटीएस प्रणालीसमेत बन्द गरिएको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले प्रभावित प्रणाली तत्काल अद्यावधिक गर्न र सुरक्षा परीक्षण पूरा नभएसम्म जोखिमयुक्त वेबसाइट इन्टरनेटबाट अलग राख्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र रेमिट्यान्स कम्पनीलाई सुरक्षा निगरानी बढाउन आग्रह गरेको छ।
सरकारी वेबसाइट बन्द हुँदा नागरिकले प्राप्त गर्ने अनलाइन सूचना तथा सेवा प्रभावित भएका छन्। यद्यपि बैंकिङ कारोबार पूर्ण रूपमा बन्द भएको छैन। मोबाइल बैंकिङ र क्यूआर भुक्तानी सेवा सञ्चालनमा रहेको तथा केही बैंकले सुरक्षा अद्यावधिकपछि वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेको जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी वेबसाइटको सुरक्षा परीक्षण र प्राविधिक सुधारको काम भइरहेको जनाएको छ। केन्द्रका प्रमुख कार्यकारी अधिकृत किरण तिमिल्सिनाका अनुसार पुराना प्रणालीको स्रोत कोड परीक्षण र नयाँ सुरक्षित संस्करणमा स्तरोन्नति गर्ने काम भइरहेको छ। आवश्यक सुरक्षा अद्यावधिक पूरा भएपछि हजारौँ सरकारी वेबसाइट चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याउने तयारी छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक एवं प्रवक्ता राजकुमार महर्जनका अनुसार पीएचपीमा देखिएको सुरक्षा कमजोरीका कारण नेपालमा अहिलेसम्म अनधिकृत पहुँच वा साइबर आक्रमण भएको घटना पुष्टि भएको छैन। वेबसाइट बन्द गर्नु सम्भावित जोखिमबाट जोगिन अपनाइएको पूर्वसावधानी भएको उनको भनाइ छ।
यसअघि विश्वका विभिन्न देशमा पनि पीएचपी प्रविधिमा देखिएको सुरक्षा कमजोरीका कारण सरकारी निकाय, वित्तीय संस्था तथा अन्य सार्वजनिक सेवाका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!