भारी वर्षा र हावाहुरीको जोखिम : प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षा र हावाहुरीको जोखिम : प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ ।प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको पूर्वानुमान गरेको भन्दै पूर्वसावधानी नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्।

उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। नदी तटीय क्षेत्रमा माइकिङमार्फत स्थानीयलाई सचेत गराउने कामसमेत भइरहेको छ।

प्रधानमन्त्री शाहले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ।

राजमार्गका सुरक्षा जाँच चौकीले अघिल्लो चेकप्वाइन्टसँग समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

सम्भावित बाढी, पहिरो र नदी कटानलाई ध्यानमा राखी एक्स्काभेटर, लोडर तथा डोजरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन र सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।

हिमाली तथा पहाडी क्षेत्रमा ट्रेकिङ र पर्वतारोहणमा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न समन्वय गर्न व्यवसायीलाई आग्रह गरिएको छ। मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

त्यस्तै, ७५३ वटै स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक पूर्वतयारी गर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ।

प्रधानमन्त्री शाहले असोज ९ गते आवश्यकता अनुसार विद्यालयको पठनपाठन सञ्चालन नगर्न तथा तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन्। अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष आग्रह गरिएको छ।

अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न र आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई समेत सक्रिय अवस्थामा राखिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक खाद्यान्न मौज्दात कायम गर्न निर्देशन दिइएको छ। राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। मौसमको अवस्था देखाएर कृत्रिम अभाव, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्नेमाथि कडा कारबाही गर्न बजार अनुगमन तीव्र पार्न निर्देशन दिइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर SMS Alert पठाइएको छ भने स्थानीय सञ्चारमाध्यमबाट मौसमसम्बन्धी नियमित सूचना तथा सावधानीका उपाय प्रसारण गर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गरेका छन्।

आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र १२३४ र स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न सकिनेछ। मौसमसम्बन्धी पूर्वानुमानका लागि ११५५ मा डायल गर्न सकिने जनाइएको छ।
प्रधानमन्त्री शाहको आग्रह छ—“सावधान रहौँ, सुरक्षित रहौँ।”

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP