बाढीको पूर्वसूचना ६ नदी बेसिनमा विस्तार गरिने, चार हिमतालको पानीको सतह घटाइने

बाढीको पूर्वसूचना ६ नदी बेसिनमा विस्तार गरिने, चार हिमतालको पानीको सतह घटाइने

काठमाडौँ । बाढीको जोखिम घटाउन सरकारले ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ । साथै, हिमताल विस्फोटबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न चारवटा जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारिएको छ ।

ऊर्जा मन्त्रालयले सार्वजनिक गरेका दुई श्वेतपत्रमा जलस्रोतको दिगो उपयोग, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण र जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणसम्बन्धी योजना समेटिएका छन् ।

ग्लोफ सञ्जीवनी आयोजना अन्तर्गत मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु-२ हिमतालमा जोखिम न्यूनीकरणका उपाय अपनाइनेछ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको यस आयोजनाको कुल बजेट करिब ४ करोड ९९ लाख अमेरिकी डलर रहेको छ ।

यसअघि दोलखाको छो-रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम कम गरिएको अनुभवका आधारमा नयाँ हिमतालमा पनि कार्यक्रम अघि बढाउन लागिएको हो ।

यस्तै, प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनामार्फत ७५ लाख ४० हजार अमेरिकी डलर लागतमा ६ वटा नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली जडान भइरहेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जेठ १ देखि असोज मसान्तसम्म २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना मोडल विकास गर्ने योजना पनि छ ।

बागमती सुधार आयोजनाअन्तर्गत २ करोड ६१ लाख रुपैयाँ लागतमा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण गरिनेछ । यसले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढीबारे समयमै जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मौसम तथा बाढीको पूर्वानुमानलाई थप विश्वसनीय बनाउन मौसम विज्ञान विभागले कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ र उच्च क्षमताको कम्प्युटिङ प्रणाली प्रयोग गर्ने योजना बनाएको छ । देशभरका ५०३ वटा म्यानुअल मौसम केन्द्रलाई क्रमशः स्वचालित बनाउने, काठमाडौँ उपत्यकामा एक्स-ब्यान्ड राडार जडान गर्ने तथा थप ६ प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ ।

सरकारले मोबाइल एप, टोल-फ्री सेवा, सामाजिक सञ्जाललगायत माध्यमबाट मौसम र बाढीसम्बन्धी पूर्वसूचना स्थानीय तह तथा जोखिममा रहेका समुदायसम्म समयमै पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP