काठमाडौँ प्रवेशका प्रमुख नाकामा यातायात प्रभावित, पहिरो र जोखिमका कारण आवागमन अवरुद्ध

काठमाडौँ प्रवेशका प्रमुख नाकामा यातायात प्रभावित, पहिरो र जोखिमका कारण आवागमन अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने उच्च जोखिमका कारण केही सडकमा प्रहरी प्रशासनले नै सवारी आवागमन रोकेको छ।

सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलविरे नजिक पहिरो खसेपछि यातायात प्रभावित भएको छ। अन्य स्थानमा खसेको पहिरो र लेदो हटाउने कार्य जारी रहेको जनाइएको छ।

सडक डिभिजनले उक्त सडक प्रयोग गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

यता, हेटौँडाबाट भीमफेदी हुँदै सिस्नेरी–दक्षिणकाली मार्गबाट काठमाडौँ आउने सवारीसाधनलाई आज बिहानदेखि चरणबद्ध रूपमा सञ्चालन गर्न थालिएको प्रहरीले जनाएको छ।

यसअघि हिजो कान्तिपथ र सिस्नेरी हुँदै काठमाडौँ प्रवेशमा सुरक्षा सतर्कताका लागि रोक लगाइएकाले हेटौँडामा धेरै सवारीसाधन रोकिएका थिए। वर्षा जारी रहेकाले थप पहिरोको जोखिम कायम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP