७ हजार रोजगारीका लागि ७६ हजार नेपालीको प्रतिस्पर्धा

७ हजार रोजगारीका लागि ७६ हजार नेपालीको प्रतिस्पर्धा

काठमाडौं। दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको आकर्षण अझै घटेको छैन। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०२६ का लागि खुलाइएको ७ हजार २ जनाको कोटामा ७६ हजार १७२ नेपालीले आवेदन दिएपछि प्रतिस्पर्धा अत्यन्त चर्किएको छ।

इपीएस कोरिया शाखाका अनुसार कुल मागभन्दा साढे सात गुणाभन्दा बढी आवेदन परेको हो। उत्पादन क्षेत्रका ५ हजार कोटाका लागि ५२ हजार १२१ जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालन क्षेत्रका २ हजार कोटाका लागि २२ हजार ५१ जनाले आवेदन दर्ता गरेका छन्।

त्यसैगरी सेवा र वन क्षेत्रका एक/एक सय कोटाका लागि पनि करिब एक/एक हजार जनाको आवेदन परेको शाखाले जनाएको छ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपाली श्रमिकका लागि सुरक्षित, व्यवस्थित र राम्रो आम्दानी हुने गन्तव्य भएकाले आवेदनको चाप उच्च रहेको बताइन्। उनले कोरियामा रोजगारीको अवसर सीमित भए पनि आकर्षण निरन्तर बढिरहेको उल्लेख गरिन्।

यस वर्ष एक व्यक्तिले एक क्षेत्रका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। यसअघि एउटै व्यक्तिले उत्पादन र कृषि दुवै क्षेत्रमा आवेदन दिन पाउने व्यवस्थाका कारण व्यवस्थापनमा समस्या देखिएको थियो।

इपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवारले दोस्रो चरणअन्तर्गत सिप परीक्षण तथा कार्यक्षमता मूल्याङ्कनमा समेत सफल हुनुपर्नेछ। दुवै चरण पार गरेपछि मात्रै दक्षिण कोरियामा रोजगारीका लागि अन्तिम छनोटमा पर्ने व्यवस्था रहेको छ।

सीमित कोटा र अत्यधिक आवेदनका कारण यस वर्ष पनि दक्षिण कोरिया जान चाहने नेपालीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP