असार १५ मा राष्ट्रिय धान दिवस मनाइँदै, आयातित बिउमै निर्भर नेपालको कृषि

असार १५ मा राष्ट्रिय धान दिवस मनाइँदै, आयातित बिउमै निर्भर नेपालको कृषि

काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘मानो रोपेर मुरी उब्जाउने’ दिनका रूपमा परिचित असार १५ मा किसानहरू खेतमा धान रोपाइँमा व्यस्त छन् भने दही–चिउरा खाने र हिलो खेल्ने परम्पराले पनि यस दिनलाई विशेष बनाएको छ।

सरकारले हरेक वर्ष धान उत्पादन वृद्धि, कृषिप्रति आकर्षण बढाउने तथा किसानको योगदानको सम्मानस्वरूप राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। कृषि प्रधान देश नेपालमा धानलाई प्रमुख खाद्यान्न बालीका रूपमा लिइन्छ। देशको कुल खाद्यान्न उत्पादन र कृषि अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको छ।

तर धान दिवस मनाइरहँदा नेपालको कृषि क्षेत्रको एउटा यथार्थ भने चिन्ताजनक देखिएको छ। धान उत्पादनको आधार मानिने बिउमा नेपाल अझै पनि विदेशमा निर्भर रहेको तथ्यांकले देखाएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालले १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ विदेशबाट आयात गरेको छ। आयातित बिउमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा छिमेकी मुलुक भारत र चीन बाट आएको छ।
तथ्यांकअनुसार सो अवधिमा भारत बाट मात्रै १ अर्ब १४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको २ हजार ६ सय ६९ टन धानको बिउ आयात भएको छ। यस्तै, चीन बाट १५ करोड ६७ लाख रुपैयाँ बराबरको ३ सय २४ टन धानको बिउ नेपाल भित्रिएको छ।

यस बाहेक परीक्षण तथा विशेष प्रयोजनका लागि भियतनाम बाट १ सय ४८ किलो, बेलायत बाट १२ किलो, कतार र संयुक्त अरब इमिरेट्स बाट ५/५ किलो तथा साउदी अरेबिया बाट ३ किलो धानको बिउ नेपाल भित्रिएको छ।
एकातिर सरकारले बिउमा आत्मनिर्भर उन्मुख भएको दाबी गरिरहेको छ भने अर्कोतर्फ प्रत्येक वर्ष सवा अर्ब रुपैयाँभन्दा बढीको धानको बिउ आयात भइरहनुले कृषि अनुसन्धान, उन्नत जातको बिउ उत्पादन र किसानको आवश्यकता पूरा गर्ने प्रणालीबीच अझै ठूलो दूरी रहेको देखाएको छ।

धान दिवसका अवसरमा किसानको मेहनत र योगदानको सम्मान गरिए पनि उत्पादनको पहिलो आधार बिउमै विदेशी निर्भरता कायम रहनु नेपालको कृषि क्षेत्रका लागि चुनौतीका रूपमा रहेको विज्ञहरूको भनाइ छ। स्वदेशमै गुणस्तरीय बिउ उत्पादन, अनुसन्धान र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसकेसम्म कृषि आत्मनिर्भरताको लक्ष्य हासिल गर्न कठिन हुने देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP