विष्णु माया पौडेलको स्वर, अस्मिता जुरेली–आरती बुढाको नृत्य : आउँदै ‘दुई सय तोला सुन’ तीज गीत

विष्णु माया पौडेलको स्वर, अस्मिता जुरेली–आरती बुढाको नृत्य : आउँदै ‘दुई सय तोला सुन’ तीज गीत

काठमाडौं । तीज पर्व नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम जारी छ। यही क्रममा गायिका विष्णु माया पौडेलको स्वरमा रहेको नयाँ तीज गीत ‘दुई सय तोला सुन’ को भिडियो छायांकन सम्पन्न भएको छ।

गीतमा आरबी केसीको शब्द तथा संगीत रहेको छ भने विष्णु माया पौडेलले स्वर दिएकी छन्। तीजको मौलिक स्वाद र समसामयिक प्रस्तुति समेटिएको गीतले यस वर्षको तीजमा दर्शक–श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा चर्चित मोडल अस्मिता जुरेली र आरती बुढा को आकर्षक नृत्य देख्न पाइनेछ। उनीहरूको प्रस्तुति भिडियोको मुख्य आकर्षण रहने निर्माण टिमले जनाएको छ। भिडियोको कोरियोग्राफी दिपेश एसकेले गरेका छन् भने छायांकनको जिम्मेवारी रामकुमार केसीले सम्हालेका छन्।

भिडियोको छायांकन काठमाडौंको गोकर्णेश्वरस्थित सहिद स्मारक पार्क तथा त्रिवेणी ब्याङ्क्वेटमा सम्पन्न गरिएको हो। छायांकन सम्पन्न भएसँगै अब बुधबारबाट भिडियो सम्पादनको काम सुरु गरिने जनाइएको छ।

गायिका पौडेलले छायांकन सफल बनाउन सहयोग गर्ने गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली, वडा नं. ८ का वडा अध्यक्ष  नन्दलाल श्रेष्ठ तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेकी छन्। साथै भिडियो निर्माणमा साथ दिने कलाकार, प्राविधिक, शुभेच्छुक तथा सहयोगी सबैलाई धन्यवाद दिएकी छन्।

भिडियोको सम्पादन वरिष्ठ सम्पादक टेकेन्द्र शाहले गर्नेछन्। निर्माण पक्षका अनुसार उत्कृष्ट शब्द, संगीत, नृत्य र प्रस्तुतिसहित तयार पारिएको ‘दुई सय तोला सुन’ तीज गीत सम्पादन कार्य सम्पन्न भएपछि छिट्टै दर्शकमाझ सार्वजनिक गरिनेछ।

तीज गीतप्रेमीहरूका लागि नयाँ कोसेलीका रूपमा हेरिएको यस गीतले यस वर्षको तीज बजारमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP