काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार नयाँदिल्लीमा एक घण्टाभन्दा बढी समयसम्म भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा सहमति भएको छ ।
भेटवार्तामा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, विकास साझेदारी तथा बदलिँदो राजनीतिक परिस्थितिमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री मोदीले भारत सधैँ नेपालको साथमा रहेको उल्लेख गर्दै नेपालको विकास, आर्थिक प्रगति र समृद्धिका लागि भारत साझेदार बन्न इच्छुक रहेको बताएका छन् । स्रोतका अनुसार उनले लामिछानेलाई नेपालको प्राथमिकता स्पष्ट गर्न आग्रह गर्दै भने, ‘पहिले तपाईंहरूले आफ्नो प्राथमिकता तय गर्नुहोस्, त्यसपछि त्यसलाई सफल बनाउन भारतले हरसम्भव सहयोग गर्नेछ ।’
लामिछानेले आफ्नो पार्टीसँग विगतका राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगबाट सम्बन्ध विकास गर्न चाहेको धारणा राखेका थिए । उनले आपसी सम्मान, विश्वास र साझा हितका आधारमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
जवाफमा मोदीले हालै सम्पन्न निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताको प्रशंसा गर्दै नेपालमा देखिएको नयाँ राजनीतिक अभ्यासलाई सकारात्मक रूपमा लिएको बताइएको छ ।
भेटमा नेपाल–भारत आर्थिक सहकार्य विस्तार, पर्यटन प्रवर्द्धन, जलविद्युत् विकास तथा लगानी वृद्धि जस्ता विषयले प्राथमिकता पाएका थिए । मोदीले नेपालको तीव्र आर्थिक विकासका लागि पर्यटन र जलविद्युत् क्षेत्रलाई प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिएका थिए ।
भेटवार्तामा रवि लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका नेता विपिन आचार्य र दीपक बोहोरा सहभागी थिए । भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव विक्रम मिस्रीलगायत उच्च अधिकारी उपस्थित थिए ।
स्रोतका अनुसार पछिल्लो समय चर्चामा रहेका सीमा सम्बन्धी विषयमा भने औपचारिक छलफल भएको छैन । यद्यपि, दुवै पक्षले संवाद र द्विपक्षीय संयन्त्रमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
भेटका क्रममा मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना सन्देश पठाउँदै भारत भ्रमणको निम्तोसमेत दिएका छन् । उनले प्रधानमन्त्री शाहलाई नयाँदिल्लीमा स्वागत गर्न आफू तयार रहेको सन्देश लामिछानेमार्फत पठाएको बताइएको छ ।
रवि लामिछानेको भारत भ्रमण र उच्चस्तरीय भेटघाटलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक र कूटनीतिक सन्देशका रूपमा हेरिएको छ । एक घण्टा लामो मोदी–लामिछाने वार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने संकेत दिएको राजनीतिक वृत्तको बुझाइ छ ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!