नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने

नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले नयाँ प्रविधिमा आधारित प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्ने प्रक्रियाका कारण केही दिनका लागि राहदानी सेवा अवरुद्ध हुने भएको हो।

विभागले सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि बन्द रहने जानकारी दिएको छ।

यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा भने असार २५ र २६ गते दुई दिनका लागि बन्द रहनेछ।
विभागका अनुसार नयाँ प्रणाली कार्यान्वयनसँगै राहदानी सेवालाई थप व्यवस्थित, छिटो, सुरक्षित तथा सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखिएको छ। प्रणाली परिवर्तनका क्रममा आवश्यक प्राविधिक काम सम्पन्न गर्न सेवा अस्थायी रूपमा स्थगित गरिएको विभागले जनाएको छ।

नयाँ प्रणाली असार २७ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको विभागले उल्लेख गरेको छ। सेवा बन्द रहने अवधिमा राहदानीका लागि आवेदन दिन वा अन्य सेवा लिन चाहने सेवाग्राहीलाई आवश्यक योजना बनाएर मात्रै कार्यालयमा उपस्थित हुन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP