अबुधाबी– अबुधाबीस्थित नेपाली दूतावासले आइतबार संयुक्त राष्ट्रसंघद्वारा मनाइने विश्व ध्यान दिवस औपचारिक कार्यक्रममार्फत मनाएको छ। जीवन विज्ञान प्रतिष्ठान नेपालको सहयोगमा आयोजना गरिएको यस कार्यक्रममा ध्यान गर्ने विधि, यसको महत्व र दैनिक जीवनमा शारीरिक–मानसिक स्वास्थ्य सुधारका लागि ध्यान अभ्यासका लाभबारे प्रशिक्षण दिइयो।
कार्यक्रममा प्रमुख अतिथि राजदूत तेजबहादुर क्षेत्री थिए। उनले दुबईमा बसोबास गर्ने सबै नेपालीलाई सम्बोधन गर्दै दैनिक जीवनमा ध्यान गर्ने बानी बसाल्न अपिल गरे। राजदूत क्षेत्रीले भने, “नेपाल भगवान गौतम बुद्धको जन्मभूमि, तपोभूमि र शान्ति भूमि हो। विश्व ध्यान दिवसको अवसरले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सुनौलो माध्यम प्रदान गरेको छ। ध्यानले हाम्रो शारीरिक र मानसिक स्वास्थ्य सुधार्ने मात्र होइन, जीवनमा खुशी र सकारात्मक ऊर्जा ल्याउँछ।”
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठान नेपालका प्रशिक्षक चन्द्र लक्ष्मी श्रेष्ठले उपस्थित सहभागीलाई ध्यान अभ्यासको सही तरिका र यसको लाभबारे विस्तृत जानकारी दिइन्। उनिले विशेष रूपमा भनिन्, “दैनिक जीवनमा कम्तीमा १५ मिनेट ध्यान गर्नुपर्छ। यसले मानसिक शान्ति, तनाव कम गर्ने, सकारात्मक ऊर्जा थप्ने र व्यक्तिगत खुशी बढाउने प्रभाव पार्छ। ध्यानलाई जीवनशैलीमा नियमित समावेश गर्दा शारीरिक र मानसिक स्वास्थ्य दुवैमा लाभ हुन्छ।”
अबुधाबीस्थित विभिन्न पेशागत नेपाली, दूतावासका कर्मचारी र प्रशिक्षक टोलीले सक्रिय सहभागिता जनाए। कार्यक्रमको सञ्चालन प्रथम सचिब भुपेन्द्र घिमिरेले गरेका थिए।
दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार कार्यक्रमले अबुधाबीमा बसोबास गर्ने नेपाली समुदायमा ध्यानको महत्व बुझाउने, जीवनशैली सुधार्न प्रेरित गर्ने र नेपाललाई विश्वसामु चिनाउने उद्देश्य पूरा गरेको बताइएको छ। सहभागीहरूले कार्यक्रमबाट पाएको सकारात्मक ऊर्जा र शान्तिको अनुभूति विशेष रूपमा उल्लेखनीय रहेकोछ।
कार्यक्रमका सहभागीहरूले भने, “ध्यानले मानसिक शान्ति दिन्छ र दैनिकीमा सकारात्मक ऊर्जा थप्छ। हामीले यहाँ सिकेका अभ्यासहरू दैनिक जीवनमा नियमित गर्नेछौं।”
दूतावासले विश्व ध्यान दिवस हर्ष उल्लासका साथ सम्पन्न भएको जानकारी दिँदै, नेपाललाई बुद्धको जन्मभूमि, तपोभूमि र शान्ति भूमिको रूपमा चिनाउने प्रयास निरन्तर जारी रहने बताएकोछ।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया