चर्चामा
काठमाडौँ । सरकारले महिला उद्यमशीलता प्रवर्द्धन र आर्थिक आत्मनिर्भरता बढाउन नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले महिला उद्यमी तथा उद्यमी समूहलाई वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग उपलब्ध गराउने कार्यविधि लागू गरेको हो।
‘महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार छनोट भएका एकल महिला उद्यमीले कम्तीमा दुई लाख रुपैयाँसम्मको प्रविधि सहयोग पाउनेछन्। त्यस्तै, महिला उद्यमी समूहलाई तीन लाख रुपैयाँसम्मको उपयुक्त प्रविधि सहयोग उपलब्ध गराइनेछ।
कार्यक्रमअन्तर्गत उद्यमीलाई आवश्यक मेसिन, औजार तथा उपकरण उपलब्ध गराउनुका साथै व्यवसायको स्तरोन्नति, उत्पादन वृद्धि र स्वरोजगार सिर्जनामा सहयोग गरिनेछ।
कार्यक्रम प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालन हुनेछ। प्रदेश मन्त्रालयले आवेदन आह्वान गर्नेछ भने सम्बन्धित स्थानीय तहले सम्भावनायुक्त महिला उद्यमी वा समूह छनोट गरी सिफारिस गर्ने व्यवस्था गरिएको छ।
कार्यविधिले स्थानीय कच्चा पदार्थ र मौलिक सीपमा आधारित उद्यमलाई प्राथमिकता दिएको छ। कृषि, पशुपालन, हस्तकला, पर्यटन, अल्लो तथा ढाका बुनाइ, होमस्टेलगायतका व्यवसायलाई कार्यक्रममा समेटिएको छ।
त्यस्तै, हरुवा, चरुवा, कमलहरी, चमार, डोम, चेपाङ र वादी समुदायका महिला, एकल महिला, हिंसा पीडित तथा वैदेशिक रोजगारीबाट फर्किएका महिला उद्यमीलाई छनोटमा प्राथमिकता दिइनेछ।
सरकारले प्रविधि सहयोगसँगै ब्रान्डिङ, प्याकेजिङ, प्रदर्शनी, वित्तीय साक्षरता र सहुलियतपूर्ण कर्जामा पहुँच विस्तारका कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिन अनलाइन आवेदन र प्रशिक्षण सेवाको व्यवस्था पनि गरिएको छ।
कार्यक्रमबाट प्राप्त मेसिन तथा उपकरण पाँच वर्षसम्म बिक्री वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाइने छैन। कार्यविधिविपरीत सहयोगको प्रयोग गरेको पाइएमा उपलब्ध गराइएको रकम सरकारी बाँकीसरह असुलउपर गरिने व्यवस्था गरिएको छ।
मन्त्रालयले महिलालाई अनुदानमा मात्र निर्भर बनाउनेभन्दा उद्यम सञ्चालनमार्फत दीर्घकालीन रूपमा आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याएको जनाएको छ।
धरान-१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भीर घाइते भएका १० महिनाका बालकको उपचारका क्रममा मृत्यु भएक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!