तरवार र पञ्चेबाजाको तालमा गुञ्जिन्छ अर्घाखाँची, सराये नाचले जोगाउँदै मौलिक पहिचान

तरवार र पञ्चेबाजाको तालमा गुञ्जिन्छ अर्घाखाँची, सराये नाचले जोगाउँदै मौलिक पहिचान

अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि '[वाख्यै भाइ हो' भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ र भगवती मन्दिरमा देखिने सराये नाचले जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ।

बडादसैँको विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको खुसीयालीमा प्रदर्शन गर्ने परम्परागत नाच हो। यसमा महिला तथा पुरुषले तरवार, खुडा र अन्य परम्परागत हतियार हातमा लिएर पञ्चेबाजाको तालमा नाच्ने गर्छन्। देवीको प्रतीकका रूपमा आलमसमेत सहभागी गराइन्छ।

अर्घा भगवती मन्दिर तथा अर्घा दरबारलाई सराये नाचको उद्गमस्थलका रूपमा लिने गरिन्छ। अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालका अनुसार अर्घाको सराये नाच पञ्चाङ्ग पात्रोमा समेत समावेश छ।

दसैँका अवसरमा जिल्लाका विभिन्न स्थानमा निश्चित दिनमा सराये नाच्ने परम्परा छ। एकादशीमा सन्धिखर्क, द्वादशीमा ठाडा र ढिकुरा, त्रयोदशीमा खाँचीकोट र ताराखसे तथा चतुर्दशीमा रागामारे र कुरमा सराये नाचिन्छ। कोजाग्रत पूर्णिमाका दिन अर्घा भगवती मन्दिर तथा अर्घा दरबारमा सराये नाच प्रदर्शन गरिन्छ। यो परम्परा चैतेदसैँमा पनि निरन्तर रहन्छ।

सराये धार्मिक आस्था र वीरताको प्रदर्शनमा मात्र सीमित छैन। विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सहभागी हुने भएकाले यसले सामाजिक एकता, सद्भाव र भाइचारा बढाउन पनि भूमिका खेल्दै आएको छ।

आधुनिकताको प्रभावसँगै कतिपय मौलिक परम्परा ओझेलमा पर्दै गएका बेला सराये नाचले अर्घाखाँचीको सांस्कृतिक विरासतलाई पुस्तौँदेखि जोगाउँदै आएको छ। यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके जिल्लाको मौलिक पहिचानलाई देश-विदेशमा चिनाउन थप सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिहीबारदेखि देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
6 मिनेट अगाडि

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...

छुटाउनुभयो कि ?

TOP