जुम्लामा कोदोको माग बढ्दो, खेती गर्ने किसान भने घट्दै

जुम्लामा कोदोको माग बढ्दो, खेती गर्ने किसान भने घट्दै

जुम्ला । बजारमा कोदोको पिठोको माग बढ्दै गए पनि जुम्लामा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। युवाको कृषि पेसाप्रति घट्दो आकर्षण र रैथाने बाली प्रवर्द्धनमा पर्याप्त ध्यान नपुग्दा कोदो खेती सङ्कटमा पर्दै गएको हो।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार कोदोको पिठोको माग बढे पनि खेती गर्ने किसानको सङ्ख्या भने घटिरहेको छ। तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती बढी हुने गरेको छ।

स्थानीय किसान नर रावतले कोदो खेती विस्तार र प्रवर्द्धनमा सम्बन्धित निकायको पर्याप्त चासो नदेखिएको बताए। अर्कोतर्फ, किसानले कोदोभन्दा तरकारी तथा नगदे बालीलाई प्राथमिकता दिन थालेका छन्। युवा पुस्ताको आकर्षण घट्दा खेतीयोग्य जमिन बाँझो रहने क्रमसमेत बढेको स्थानीयको भनाइ छ।

स्थानीय बजारमा कोदोको पिठो प्रतिकिलो २०० रुपैयाँसम्म बिक्री हुने गरेको व्यापारी अर्जुन बुढाले बताए। आन्तरिक पर्यटकले समेत कोदोको परिकार रुचाउने भएकाले बजारमा यसको माग बढिरहेको उनको भनाइ छ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जुम्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको थियो। जिल्लाका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कार्यालयले जनाएको छ।

बजारमा माग बढिरहेका बेला उत्पादन र खेती गर्ने किसानको सङ्ख्या घट्नुले रैथाने बाली संरक्षणको चुनौती देखाएको छ। कोदो खेतीलाई प्रोत्साहन, किसानलाई आवश्यक सहयोग र युवालाई कृषि पेसातर्फ आकर्षित गर्न सके यसको उत्पादन बढाउन सकिने देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनपीएल सुरक्षामा दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन !
20 मिनेट अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचा ...

छुटाउनुभयो कि ?

TOP