चर्चामा
काठमाडौं । सेयर बजारको वास्तविक अवस्था देखाउन नेपाल धितोपत्र बोर्डले नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने प्रस्ताव अघि सारेको छ। नयाँ सूचकले बजारमा वास्तवमै खरिदबिक्री हुने सर्वसाधारण सेयरको मूल्य घटबढलाई प्राथमिकता दिनेछ।
बोर्डले प्रस्तुत गरेको कार्यपत्रमा नयाँ सूचकको नाम 'नेप्से बेन्चमार्क इन्डेक्स’ (एनबीआई) राख्न सकिने उल्लेख छ। यद्यपि, यसबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आवश्यक परामर्श गर्न सक्ने बोर्डले जनाएको छ। हालको नेप्से परिसूचकलाई भने 'नेप्से अल इक्विटी इन्डेक्स’का रूपमा कायम राख्ने प्रस्ताव गरिएको छ।
हालको नेप्से परिसूचकमा संस्थापक, सरकारी स्वामित्वमा रहेका तथा लकइन अवधिमा रहेका सेयरसमेत समेटिने भएकाले बजारमा वास्तविक कारोबारको अवस्था पूर्ण रूपमा प्रतिबिम्बित हुन नसकेको बोर्डको तर्क छ। कारोबारमा नआउने सेयरको मूल्यसमेत गणनामा समावेश हुँदा सूचकांकले बजारको वास्तविक गतिविधि देखाउन कठिन हुने बोर्डले जनाएको छ।
नयाँ सूचकांकमा भने संस्थापक सेयर, सरकार वा सरकारी निकायको रणनीतिक स्वामित्वमा रहेका सेयर, लकइनमा रहेका तथा स्वतन्त्र रूपमा कारोबार गर्न नमिल्ने सेयर समावेश नगर्ने प्रस्ताव गरिएको छ। यसले कारोबारयोग्य सर्वसाधारण सेयरको मूल्यमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाउने अपेक्षा गरिएको छ।
यसको उदाहरण नेपाल टेलिकमलाई लिन सकिन्छ। कम्पनीको कुल सेयरमध्ये ९१.५३ प्रतिशत सरकारको स्वामित्वमा छ भने सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत मात्रै छ। हालको गणनामा सरकारी स्वामित्वको सेयरसमेत समेटिने भएकाले कम्पनीको बजार पुँजीकरणले नेप्से परिसूचकमा ठूलो प्रभाव पार्छ। नयाँ सूचकमा भने कारोबारयोग्य सर्वसाधारण सेयरलाई मात्रै आधार मान्दा यसको प्रभाव तुलनात्मक रूपमा कम हुनेछ।
नेपालमा २०५० माघ ३० देखि प्रारम्भिक विन्दु १०० कायम गरी नेप्से परिसूचक गणना गर्न थालिएको हो। हाल सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र विभिन्न १२ समूहका क्षेत्रगत सूचकसमेत गणना हुँदै आएका छन्।
नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने प्रस्ताव कार्यान्वयन भएमा सेयर बजारको समग्र आकारभन्दा कारोबारका लागि उपलब्ध सेयरको मूल्य परिवर्तनलाई बढी महत्व दिने प्रणाली विकास हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!