चर्चामा
स्विट्जरल्यान्ड । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि वर्षौँदेखि बरफभित्र सुरक्षित रहेका ऐतिहासिक वस्तु र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन्। यस्ता सामग्रीले विगतको मानव जीवन र पृथ्वीको जलवायु इतिहास बुझ्न नयाँ अवसर दिएको छ।
लुसर्नस्थित ग्लेसियर गार्डेनले हिमनदीबाट बाहिर आएका सामग्री समेटेर ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुषदेखि रोमनकालीन मूर्ति, पर्वतारोहीको फुटेको हेल्मेट, पुरानो स्विस सैनिक चक्कु, जुत्ता र स्कीसम्मका सामग्री राखिएका छन्। मेयोनेजको खाली ट्युब र फ्याँकिएको वाइनको बोतलजस्ता वस्तु पनि त्यहाँ देख्न सकिन्छ।
स्विस हिमनदीविद्हरूका अनुसार यस वर्ष देशका हिमनदीले आफ्नो कुल क्षेत्रफलको ५.५ प्रतिशत गुमाएका छन्। अभिलेख राख्न थालिएयताका वर्षमध्ये यो दोस्रो ठूलो गिरावट हो।
ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीका अनुसार हिमनदी पूर्ण रूपमा हराउनुअघि त्यहाँ सुरक्षित रहेका महत्त्वपूर्ण सामग्री र वातावरणीय प्रमाण सार्वजनिक गर्नु प्रदर्शनीको मुख्य उद्देश्य हो।
प्रदर्शनीमा ऐतिहासिक वस्तुसँगै हिमनदी पग्लने गति देखाउने तथ्याङ्क, भिडियो र हिमनदीको बहाव बुझाउने नमूनासमेत राखिएका छन्। बरफमा सुरक्षित रहेका परागकण, हरितगृह ग्यास तथा आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कणले विगतको वातावरणीय अवस्थाबारे जानकारी दिने बताइएको छ।
करिब पाँच सय वर्षअघि वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँ र कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको प्रमाण प्रदर्शनीमा प्रस्तुत गरिएको छ। यस्ता सामग्रीले विगतमा भएका चरम गर्मी, खडेरी र अन्य वातावरणीय घटनाको अध्ययन गर्न मद्दत गर्छन्।
हिमनदी पग्लनु ऐतिहासिक सामग्री बाहिर आउने विषयमा मात्र सीमित छैन। दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका अवशेषसमेत बरफ पग्लिएपछि फेला पर्ने गरेका छन्। यसले हिमनदीभित्र प्राकृतिक र मानवीय इतिहासका कति महत्त्वपूर्ण प्रमाण सुरक्षित छन् भन्ने देखाउँछ।
प्रदर्शनीमा हिमनदीबाट निकालिएको बरफको सिलिन्डरसमेत राखिएको छ, जुन बिस्तारै पग्लिरहेको अवस्थामा देखाइएको छ। यसले जलवायु परिवर्तनका कारण प्रकृतिमा भइरहेको तीव्र परिवर्तनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।
हिमनदीमा सुरक्षित रहेका वस्तु र सूक्ष्म प्रमाणको अध्ययनले विगतको मानव गतिविधि, वातावरणीय अवस्था र जलवायु परिवर्तनको इतिहास बुझ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुने जनाइएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!