दसैँ गीतमा गाउँघरको रमाइलोदेखि परदेशीको पीडासम्म, यस वर्ष के-के आए बजारमा?

दसैँ गीतमा गाउँघरको रमाइलोदेखि परदेशीको पीडासम्म, यस वर्ष के-के आए बजारमा?

काठमाडौं । दसैँ भन्नासाथ रातो टीका, पहेँलो जमरा, लिङ्गे पिङ, चङ्गा र परिवारसँगको भेटघाट सम्झना आउँछ। तर, सबैका लागि दसैँ उत्तिकै उल्लासमय हुँदैन। कोही घर फर्किने तयारीमा छन् भने कोही रोजगारीका कारण परदेशमै चाडपर्व मनाउन बाध्य छन्। यस वर्ष सार्वजनिक भएका दसैँ गीतहरूले यिनै खुसी, बिछोड र पारिवारिक भावनालाई समेटेका छन्।

यस वर्ष बजारमा आएका गीतहरूमा परम्परागत दसैँको रमझमसँगै परदेशीको पीडा, गाउँघरको मौलिकता र चाडपर्वमा पनि कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीको समर्पणलाई प्रस्तुत गरिएको छ।

चर्चित लोकगायक पशुपति शर्मा र गायिका अन्जिता विश्वकर्माको स्वरमा ‘दसैँ आयो तिहारै आयो’ सार्वजनिक भएको छ। रोशन परियारको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा विमल अधिकारी र पार्वती श्रेष्ठ देखिएका छन्। भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन्।

त्यस्तै, गायक हिमाल सागर र गायिका मेलिना राईको स्वरमा ‘हाम्रो दसैँ यो राम्रो दसैँ यो’ सार्वजनिक भएको छ। विमल अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा विमल अधिकारी, उषा उप्रेती र सबिना क्षेत्रीले अभिनय गरेका छन्।

गायिका तृष्णा गुरुङले ‘द कोल्याब’ ब्यान्डसँग सहकार्य गर्दै 'दसैँ-तिहार' ल्याएकी छन्। गीतको भिडियोमा गाउँघरको परिवेश, कमेरोले घर लिप्ने परम्परा र देउसी-भैलोको सांस्कृतिक माहोल देखाइएको छ।

यसैगरी, 'दसैँ तिहार आयो बरिलै', 'आइसक्यो दसैँ आइसक्यो तिहार', 'दसैँ तिहार गाउँमै रमाइलो', 'आयो आयो दसैँ र तिहार' र 'फेरि आयो दसैँ’ लगायत गीत पनि सार्वजनिक भएका छन्।' यी गीतले गाउँघरको रौनक, पारिवारिक भेटघाट र चाडपर्वको उल्लासलाई समेटेका छन्।

परदेशीको पीडा पनि गीतमा

दसैँ गीतमा रमाइलो मात्र छैन, रोजगारीका लागि घरबाहिर रहेका नेपालीको पीडा पनि समेटिएको छ। बिदा पाएर पनि आर्थिक अभाव वा अन्य बाध्यताका कारण घर फर्किन नसक्ने युवाको कथा यस वर्षका केही गीतमा प्रस्तुत गरिएको छ।

गायक ज्ञानेश्वर गौतमको स्वर तथा सङ्गीत र सूर्य ढुङ्गेलको शब्दमा ‘छुट्टी लिएको थिएँ आमा दसैँ मनाउनलाई’ सार्वजनिक भएको छ। गीतले दसैँमा घर फर्किने चाहना हुँदाहुँदै पनि परदेशको बाध्यताले रोकिएका युवाको मनोभाव व्यक्त गर्छ।

त्यस्तै, सुमन अधिकारी र कमला पोखरेलको ‘राखे है सानो जमरा छरेर’ मा परदेशमा काम गरिरहेको श्रीमान् र गाउँमा उसको प्रतीक्षामा रहेकी श्रीमतीको बिछोडलाई चित्रण गरिएको छ।

अर्जुन कटुवालको ‘दसैँ आयो’ ले घर आउन नपाएको छोरालाई सम्झिरहेकी आमाको भावनालाई समेटेको छ। त्यस्तै, राजु परियार र पम्फा बञ्जाडेको ‘दसैँको माहोल’ मा रोजगारीका लागि सहरमा रहेका युवाले गाउँ, परिवार र बाल्यकालका साथी सम्झिएको कथा प्रस्तुत गरिएको छ।

कार्यक्षेत्रमै दसैँ मनाउने सुरक्षाकर्मीको कथा

यस वर्षका केही गीतले दसैँमा पनि घरपरिवार छाडेर नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीको जीवनलाई प्राथमिकता दिएका छन्।

सागर आले मगर र शान्तिश्री परियारको स्वरमा ‘पल्टनको लाहुरे’ सार्वजनिक भएको छ। गीतले ब्यारेकमै दसैँ मनाउनुपर्ने सुरक्षाकर्मीको भावना र परिवारबाट टाढा रहनुपर्दाको अवस्थालाई प्रस्तुत गर्छ।

त्यस्तै, काठमाडौं महानगर प्रहरी बलले ‘आउँछ झझल्को’ र ‘जगतै झलल’ सार्वजनिक गरेको छ। यी गीतमा चाडपर्वका बेला पनि सेवामा खटिनुपर्ने नगर प्रहरीको जिम्मेवारी, पारिवारिक सम्झना र कार्यक्षेत्रमै टीका-जमरा लगाएर दसैँ मनाउनुपर्ने अवस्थालाई चित्रण गरिएको छ।

समग्रमा, यस वर्षका दसैँ गीतले पर्वको परम्परागत उल्लाससँगै बदलिँदो नेपाली समाजको वास्तविकतालाई पनि समेटेका छन्। कसैका लागि दसैँ परिवारसँगको खुसी हो भने कसैका लागि घर फर्किन नपाउँदाको पीडा। यही विविध भावनालाई गीतमार्फत प्रस्तुत गरिएकाले यस वर्षका दसैँ गीतमा रमाइलो, सम्झना, बिछोड र जिम्मेवारीका फरक-फरक कथा सुन्न पाइन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP