चर्चामा
काठमाडौं । सरकारले भोकमरी अन्त्य र दिगो खाद्य सुरक्षा सुनिश्चित गर्ने नीति लिए पनि नेपालमा पोषण सुरक्षाको चुनौती कायमै रहेको देखिएको छ। पाँच वर्षमुनिका करिब २६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको तथ्यांकले खाद्य तथा पोषण सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ४६औँ विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिँदै सरकारले भोकमरी अन्त्य र खाद्य अधिकार सुनिश्चित गर्न विभिन्न कानुन, नीति तथा योजनामार्फत काम गरिरहेको बताएकी छन्।
उनका अनुसार संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्यसम्बन्धी हक कार्यान्वयन गर्न कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना र खाद्य प्रणाली रूपान्तरण रणनीतिलाई अघि बढाइएको छ।
मन्त्री चौधरीले कृषि भूमिको संरक्षण, उपलब्ध स्रोतको उचित उपयोग तथा अनुसन्धान र प्रविधिको विस्तारमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरण गरी उत्पादन तथा उत्पादकत्व बढाउने सरकारको लक्ष्य रहेको बताएकी छन्।
विश्व भोकमरी सूचकांकमा नेपाल १४.८ अंकसहित ७२औँ स्थानमा रहेको उल्लेख गर्दै उनले पोषण सुरक्षामा थप सुधार आवश्यक रहेको बताइन्। उनका अनुसार जलवायु परिवर्तन, प्राकृतिक विपद्, कृषिभूमिको क्षयीकरण र आयातमा देखिएका परिवर्तनले नेपालको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूतामा चुनौती थपेका छन्।
यी चुनौती सामना गर्न जलवायु अनुकूल कृषि प्रविधि, स्थानीय तथा रैथाने बालीको संरक्षण, डिजिटल कृषि र नवीन प्रविधिलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री चौधरीको भनाइ छ।
हरेक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस यस वर्ष ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै छ। मन्त्री चौधरीले दिगो खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहसँगै निजी क्षेत्र, सहकारी, विकास साझेदार तथा किसानको सहकार्य आवश्यक रहेको बताएकी छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!