चर्चामा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको परम्परागत कार्यशैली परिवर्तन गर्दै नयाँ इतिहास रच्ने घोषणा गरेका छन्।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको रूपान्तरण आजैदेखि सुरु हुने बताएका हुन्।
कांग्रेसको गौरवशाली इतिहास भए पनि विगतको उपलब्धिको चर्चा गरेर मात्र पार्टी अघि बढ्न नसक्ने उनको भनाइ थियो। उनले महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न तथा जनसरोकारका मुद्दा समाधान गर्न उपयोग गरिने बताए।
“हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ,” थापाले भने, “हामी यस्तो कांग्रेस बनाउनेछौँ, जसलाई किसान, उद्यमी र वैदेशिक रोजगारीमा गएका नेपालीले आफ्नो भरोसाका रूपमा चिनून्।”
थापाले कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीको पुनर्संरचना र नागरिकको भरोसा पुनः प्राप्त गर्न भाषण मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले नेता तथा कार्यकर्तालाई आचरण र कार्यशैली सुधार्न निर्देशन दिए।
उनले पार्टीले जनतामाझ आफ्नो प्रतिबद्धता व्यवहारमै प्रमाणित गर्नुपर्नेमा जोड दिँदै परिणाममुखी काममार्फत कांग्रेसको नयाँ पहिचान स्थापित गर्ने बताए।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!