चर्चामा
काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेसँगै महिला कर्मचारीका लागि प्रस्तावित महिनावारी बिदाको विषय चर्चामा आएको छ।
'संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३' बिहीबार प्रतिनिधिसभामा दर्ता भएको हो। विधेयकमा निजामती कर्मचारीले पाउने बिदासम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।
महिनावारीका बेला हुने पेट दुखाइ, अत्यधिक रक्तस्राव, थकानलगायतका समस्याका कारण काम गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था बहसमा आएको हो।
तर संसद्मा पुगेको विधेयकको उपलब्ध विवरणअनुसार महिनावारी बिदा कति दिन पाउने, तलबसहित वा बेतलबी हुने तथा बिदा लिन कुनै प्रमाण आवश्यक पर्ने वा नपर्ने विषय स्पष्ट रूपमा खुलाइएको छैन। विधेयकले निजामती कर्मचारीका लागि नौ प्रकारका बिदाको व्यवस्था प्रस्ताव गरेको छ भने बिदासम्बन्धी विस्तृत विषय नियमावलीमार्फत निर्धारण हुने व्यवस्था गरेको छ।
विश्वका विभिन्न मुलुकमा भने महिनावारीसँग सम्बन्धित बिदाका फरक-फरक अभ्यास छन्। जापानमा आवश्यकताअनुसार बिदा लिन सकिने व्यवस्था छ भने दक्षिण कोरियामा महिनामा एक दिनसम्मको बिदाको कानुनी प्रावधान छ। इन्डोनेसियामा महिनावारीका कारण काम गर्न नसक्ने अवस्थामा दुई दिनसम्म बिदाको व्यवस्था रहेको छ।
त्यस्तै, स्पेनले गम्भीर महिनावारी पीडाका कारण काम गर्न नसक्ने अवस्थालाई सामाजिक सुरक्षा प्रणालीअन्तर्गत विशेष अस्थायी काम-असमर्थताको रूपमा सम्बोधन गरेको छ।
नेपालमा प्रस्तावित व्यवस्था भने अहिले विधेयककै चरणमा छ। संसद्बाट विधेयक पारित भई ऐन बनेपछि मात्रै महिला निजामती कर्मचारीले महिनावारीका बेला पाउने बिदाको वास्तविक स्वरूप र कार्यान्वयनसम्बन्धी व्यवस्था स्पष्ट हुनेछ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि बोलाएको सभा बैठकप्रति विश्वविद्यालयसँग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!