चर्चामा
वाराणसी । भारतको उत्तर प्रदेशस्थित वाराणसीको ‘अपना घर आश्रम’मा पछिल्लो एक वर्षमा ५५ जना वृद्धवृद्धाको मृत्यु भएको छ। आश्रमका सञ्चालकका अनुसार जीवित छँदा आफन्तले बेवास्ता गरेका कतिपय वृद्धवृद्धाको मृत्यु भएपछि भने शव लिन आफन्त आश्रम पुग्ने गरेका छन्।
आश्रमका सञ्चालक डा. के. निरञ्जनका अनुसार यस्तो हुनुको प्रमुख कारणमध्ये बीमा रकम, सम्पत्ति तथा जमिनमाथिको दाबी रहेको आश्रमको दाबी छ। उनका अनुसार कतिपय परिवारका सदस्य वृद्ध आमाबुबाको स्वास्थ्य अवस्था बुझ्नसमेत आश्रम नआउने गरे पनि मृत्यु भएपछि बीमा दाबी गर्न वा सम्पत्तिमा आफ्नो अधिकार प्रमाणित गर्न आवश्यक पर्ने भएकाले शव लिन आउने गरेका छन्।
कतिपय आफन्त भने अन्त्येष्टि भइसकेपछि शव लिन नआएर मृत्यु प्रमाणपत्र मात्रै लिन आउने गरेको आश्रमले जनाएको छ।
आश्रमका अनुसार केही वृद्धवृद्धालाई परिवारका सदस्यले जीवितै अवस्थामा आश्रममा छाडेर जाने गरेका छन्। तर मृत्यु भएपछि उनीहरूका सामान, पैसा, गहना तथा कपडासमेत लैजाने प्रयास हुने गरेको जनाइएको छ। आश्रमले भने त्यहाँ आउने प्रत्येक व्यक्तिको सामान सुरुदेखि नै ट्याग गरेर राख्ने र त्यसको तस्बिरसहित रेकर्ड सुरक्षित गर्ने गरेको जनाएको छ।
आश्रमका अनुसार वृद्ध महिलाको मृत्यु भएपछि शव कसले लैजाने भन्ने विषयसमेत जटिल बन्ने गरेको छ। कतिपय अवस्थामा माइती, ससुराली र पतिसमेत शव लैजान अस्वीकार गर्ने गरेको डा. निरञ्जनले बताएका छन्।
आश्रमले आफन्तलाई बोलाउन फोन गर्दा विभिन्न बहाना बनाउने गरेको उनको भनाइ छ। अहिले आश्रममा करिब २७५ महिला बसिरहेको जनाइएको छ।
डा. निरञ्जनले १०५ वर्षीया एक महिलाको उदाहरण दिँदै उनले सौतेनी छोरालाई धर्मपुत्रका रूपमा हुर्काए पनि अहिले ती छोरा आमालाई भेट्नसमेत नआउने गरेको बताए।
आश्रममा रहेका ६५ वर्षीय एक वृद्धलाई वाराणसीको बेनियाबाग क्षेत्रमा लावारिस अवस्थामा भेटिएपछि आश्रममा ल्याइएको थियो। उनी करिब एक वर्षदेखि आश्रममा बस्दै आएका थिए।
उनका छोरा दुबईमा रोजगारीमा थिए। वृद्ध बिरामी भएपछि आश्रमले नजिकै रहेका आफन्तलाई पटक-पटक जानकारी गराए पनि उनी भेट्न नआएको आश्रमको भनाइ छ। वृद्धको मृत्यु भएपछि भने दुबईमा रहेका छोरा दुई दिनपछि वाराणसी आएर शव लिएर गएको जनाइएको छ।
दरभंगाका ७० वर्षीय एक सुनचाँदी व्यवसायी परिवारसँग असन्तुष्ट भएर जीवनको अन्तिम समय बिताउन काशी आएका थिए। पछि उनी गंगाको किनारस्थित घाट नजिक बेहोस अवस्थामा भेटिएपछि आश्रममा ल्याइएको थियो।
करिब छ महिना आश्रममा बसेपछि उनले आफ्नो परिवारसँग सम्बन्धित सम्पत्तिबारे जानकारी दिएका थिए। उनका अनुसार गाउँमा तीनवटा सुनचाँदी पसल र पाँच बिघा जमिन थियो।
आश्रमका अनुसार उनी बिरामी हुँदा परिवारका सदस्य भेट्न नआए पनि मृत्यु भएपछि आफन्त शव लिन आश्रम पुगेका थिए।
देवरियाका ६० वर्षीय एक वृद्ध जमिनदार परिवारका थिए। उनले आफ्नै नाममा ५० लाख भारतीय रुपैयाँको बीमा गराएका थिए। उनी तीन वर्षदेखि आश्रममा बस्दै आएका थिए।
बीचमा बिरामी भएर अस्पताल भर्ना गरिएपछि आश्रमले उनको स्वास्थ्य अवस्थाबारे परिवारलाई जानकारी गराएको थियो। तर छोरा भेट्न नआएको आश्रमको भनाइ छ। वृद्धको मृत्यु भएको भोलिपल्ट भने उनका छोरा आएर शव लिएर गएको जनाइएको छ।
आश्रमका सञ्चालकले यस्ता घटनाले वृद्धवृद्धाप्रतिको पारिवारिक जिम्मेवारी र सामाजिक सम्बन्धबारे गम्भीर प्रश्न उठाएको बताएका छन्। जीवित छँदा हेरचाह नगर्ने तर मृत्यु भएपछि सम्पत्ति, बीमा वा अन्य कानुनी प्रयोजनका लागि आफन्तको शव लिन आउने घटनाले वृद्धवृद्धाको पारिवारिक सुरक्षाको विषयलाई समेत बहसमा ल्याएको आश्रमको भनाइ छ।
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!