असोज ८ देखि भारी वर्षाको सम्भावना, ७७ जिल्लालाई उच्च सतर्कता अपनाउन निर्देशन

असोज ८ देखि भारी वर्षाको सम्भावना, ७७ जिल्लालाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । असोज ८ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले पूर्वतयारीलाई तीव्र बनाएको छ।

गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र ७७ वटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टबीच बुधबार छलफल सम्पन्न भएको हो। छलफलमा सम्भावित वर्षाको अवस्था, उच्च जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने व्यवस्था, आवश्यक परे सवारी आवागमन नियन्त्रण तथा बन्द गर्ने विषयलगायतमा विस्तृत समीक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ।

बैठकमा गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल पर्यटन बोर्ड, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका निकायका प्रतिनिधिहरू सहभागी थिए। काठमाडौं बाहिरका जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टका अध्यक्षहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

छलफलका क्रममा मौसम तथा बाढीसम्बन्धी निकायहरूले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी गराएका थिए। त्यसअनुसार सम्भावित बाढी, पहिरो, डुबान तथा सडक अवरोधबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन, स्थानीय तहसँग समन्वय बढाउन तथा आवश्यक उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो।

गृह मन्त्रालयले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती तथा मुख्य राजमार्ग आसपासका क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ। साथै जोखिम बढेमा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न तथा अनावश्यक यात्रा नगर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

सरकारले सम्भावित विपद्को प्रभाव न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रहरीको निःशुल्क बसबाट ३ हजार ५८५ यात्रुले लिए सेवा
3 दिन अगाडि

काठमाडौं । दसैँमा यात्रुको सहजताका लागि सञ्चालन गरिएको प्रहरीको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यका ...

छुटाउनुभयो कि ?

TOP