रूपन्देही। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेताहरूको समूहले आज लुम्बिनी प्रदेशमा अन्तिम प्रदेशस्तरीय भेला गर्दै प्रदेश अभियान टुंग्याउँदैछ। दाङको लमहीमा आयोजना गरिएको भेलासँगै सातै प्रदेशमा कार्यक्रम सम्पन्न हुने भएको हो।
पार्टीभित्र बृहत् एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण मूलधारबाट टाढिएका तथा निराश बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने र समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गर्ने उद्देश्यसहित उक्त समूहले देशव्यापी प्रदेश भेला आयोजना गरेको थियो।
यसअघि ६ प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको समूहले लुम्बिनी भेलासँगै आफ्नो प्रदेश यात्रा समाप्त गर्न लागेको हो। प्रदेश कार्यक्रम संयोजक गेहेन्द्र गिरीका अनुसार लुम्बिनी प्रदेशका विशेष महाधिवेशनप्रति असन्तुष्ट तथा फरक धारमा रहेका नेता–कार्यकर्ताहरू भेलामा सहभागी हुनेछन्।
यद्यपि, समूहका प्रमुख नेता तथा पूर्वसभापति शेरबहादुर देउवा विदेश भ्रमणमा रहेकाले कार्यक्रममा सहभागी नहुने भएका छन्। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले समूहको नेतृत्व गर्दै आएका छन्।
भेलामा नेता गुरू बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
एक समय देउवा समूहसँग निकट मानिएका लुम्बिनी प्रदेशका केही प्रभावशाली नेताहरू भने अहिले संस्थापन पक्षमै सक्रिय देखिएका छन्। नेतृ पुष्पा भुसाल उपसभापतिमा निर्वाचित भएसँगै संस्थापन धारमा खुलेर उभिएकी छन् भने बालकृष्ण खाण, विनोद चौधरी र देवेन्द्रराज कंडेललगायतका नेताहरूले पनि संस्थापन पक्षलाई नै साथ दिँदै आएका छन्।
मुख्य नेताहरूको अनुपस्थितिबीच हुन लागेको लुम्बिनी भेला कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणका दृष्टिले चासोका साथ हेरिएको छ।
सुनसरी । सुनसरीको हरिनगर क्षेत्रमा दुई समुदायबीच तनाव उत्पन्न भई झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!