काठमाडौं।संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्की तथा आयुक्त पदका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बा को नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस गरिएका तीनै जनाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ बुधबार गरिएको थियो।
समितिका सभापति वोधनारायण श्रेष्ठ ले सङ्घीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको जानकारी दिए।
समितिले अनुमोदनसँगै प्रस्तावित पदाधिकारीहरूले पेश गरेको कार्ययोजनालाई थप परिमार्जन गरी पुनः पेश गर्न निर्देशन दिएको छ। सुनुवाइका क्रममा सांसदहरूले उठाएका सुझाव र चासोलाई समेट्दै कार्ययोजनालाई अझ नतिजामुखी, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन आग्रह गरिएको छ।
समितिको निर्णयअनुसार परिमार्जित कार्ययोजनामा स्पष्ट लक्ष्य, मापनयोग्य सूचक, कार्यान्वयनको समयसीमा, अपेक्षित उपलब्धि तथा लक्ष्य हासिल गर्न आवश्यक गतिविधिहरू उल्लेख गरी पुनः समितिमा पेश गर्नुपर्नेछ।
निर्वाचन आयोगको नेतृत्वमा नयाँ पदाधिकारीहरूको प्रवेशसँगै आगामी निर्वाचन व्यवस्थापन, मतदाता विश्वास अभिवृद्धि तथा निर्वाचन प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने विषयमा चासो बढेको छ।
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले भोटेकोशी नदीमा पुनः ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!