काठमाडौं। अमेरिका र इरानबीचको तनाव फेरि खतरनाक मोडमा पुगेको छ। जोर्डनस्थित अमेरिकी सैन्य आधारमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले इरानका विभिन्न रणनीतिक क्षेत्रलाई लक्षित गर्दै भीषण हवाई आक्रमण सुरु गरेको छ। यस घटनाले मध्यपूर्वमा फेरि युद्धको आगो बल्ने संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा जवाफ दिने चेतावनी दिएको केही घण्टामै अमेरिकी सेनाले इरानभित्रका विभिन्न लक्ष्यहरूमा बमबारी गरेको बताइएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार आबादान, बन्दर अब्बास र बुसेहर लगायतका क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्।
विशेषगरी बुसेहर क्षेत्रमा रहेको इरानको एकमात्र आणविक ऊर्जा केन्द्र नजिक विस्फोट भएको खबर सार्वजनिक भएपछि विश्व समुदायको चासो अझ बढेको छ। आणविक संरचनासँग सम्बन्धित क्षेत्रमा कुनै ठूलो क्षति भए त्यसले सम्पूर्ण क्षेत्रलाई असर गर्न सक्ने विश्लेषण गरिएको छ।
यसैबीच अमेरिका र साउदी अरबले इराकस्थित इरान समर्थित ‘पपुलर मोबिलाइजेसन फोर्सेस’माथि पनि संयुक्त हवाई आक्रमण गरेका छन्। उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाइएको छ।
इराक सरकारले आफ्नो भूमिमा गरिएको सैन्य कारबाहीलाई सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन भन्दै कडा विरोध जनाएको छ। घटनापछि इराकी प्रधानमन्त्री अली अल–जैदीले आफ्नो पूर्वनिर्धारित साउदी अरब भ्रमण समेत रद्द गरेका छन्।
विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा पनि तनाव चुलिएको छ। इरानी रिभोलुसनरी गार्डले केही तेल ट्याङ्करलाई निशाना बनाएको दाबी गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा समेत असर पर्ने चिन्ता बढेको छ।
राष्ट्रपति ट्रम्पले इरानको आक्रमणको जवाफस्वरूप कारबाही गरिएको बताएका छन् भने इरानले पनि आफ्नो प्रतिरक्षाको अधिकार सुरक्षित रहेको प्रतिक्रिया दिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा ठूलो क्षेत्रीय युद्धको जोखिम बढाएको भन्दै विश्व समुदायले संयमता अपनाउन आग्रह गरिरहेको छ।
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले भोटेकोशी नदीमा पुनः ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!