आज मतदानमा जाँदै रास्वपा, १५१ सदस्यीय केन्द्रीय समितिका लागि प्रतिस्पर्धा

आज मतदानमा जाँदै रास्वपा, १५१ सदस्यीय केन्द्रीय समितिका लागि प्रतिस्पर्धा

चितवन  ।चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले १५१ सदस्यीय केन्द्रीय समितिको चयनका लागि मताधिकार प्रयोग गर्नेछन्।

असार ७ गतेदेखि सुरु भएको महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने कार्यतालिका रहे पनि प्रतिनिधि व्यवस्थापन तथा प्राविधिक तयारीमा भएको ढिलाइका कारण निर्वाचन प्रक्रिया पछाडि धकेलिएको थियो। त्यसपछि निर्वाचन कार्यक्रम संशोधन गर्दै आज मतदानको मिति तय गरिएको हो।

रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तीमध्ये ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ।

महाधिवेशनमा देशभरबाट करिब चार हजार प्रतिनिधिको सहभागिता रहेको छ। पार्टीको आगामी नेतृत्व, संगठनको दिशा र भावी रणनीति निर्धारण गर्ने भएकाले आजको मतदानलाई रास्वपाभित्र महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणनाको कार्य सुरु गरिने निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्व चयनसँगै रास्वपाले पहिलो महाधिवेशनबाट आफ्नो संगठनात्मक संरचनालाई पूर्णता दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP