नारायणगढ–मुग्लिन सडक दैनिक २–३ घण्टा बन्द हुने तयारी, तुइन खोलाको जोखिमपूर्ण ढिस्को काटिने

नारायणगढ–मुग्लिन सडक दैनिक २–३ घण्टा बन्द हुने तयारी, तुइन खोलाको जोखिमपूर्ण ढिस्को काटिने

राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरोको जोखिम न्यूनीकरणका लागि दैनिक २ देखि ३ घण्टासम्म सवारीसाधन रोकेर ढिस्को काट्ने तयारी गरिएको छ।

डिभिजन सडक कार्यालय चितवनका अनुसार पहिरो नियन्त्रणको जिम्मा पाएको बाबरी कन्स्ट्रक्सनलाई सडक बन्द गरेर जोखिमपूर्ण ढिस्को हटाउने तयारी गर्न निर्देशन दिइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले शनिबार जिल्ला प्रशासन कार्यालयसँग छलफलपछि सवारी सञ्चालन रोक्ने समय निर्धारण गरिने जानकारी दिए।

उनका अनुसार दिउँसो सवारी चाप कम हुने भएकाले सोही समयमा दैनिक २–३ घण्टा सडक बन्द गरी काम गरिने योजना छ। यसरी काम गर्दा करिब दुई महिनाभित्र जोखिमपूर्ण ढिस्काहरू हटाउन सकिने अनुमान गरिएको छ।

निर्माण कम्पनीले तुइन खोलामा एक्साभेटर र लोडर तयारी अवस्थामा राखिसकेको छ। पहिलो चरणमा ज्याक ह्याम्बरको प्रयोग गरी जोखिमपूर्ण ढिस्काहरू हटाइनेछ। त्यसपछि ‘नेलिङ’ प्रविधिमार्फत भित्तामा ड्रिल गरेर रड गाड्दै जाली जडान गरी पहिरो रोक्ने काम गरिनेछ।

बाबरी कन्स्ट्रक्सनले तुइन खोला र नाम्सी क्षेत्रको पहिरो जोखिम न्यूनीकरणका लागि २२ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। दुवै स्थानको काम आगामी १० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

गत वर्ष तुइन खोलामा ठूलो पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक १०० घण्टाभन्दा बढी अवरुद्ध भएको थियो। हाल पनि उक्त सडकखण्डका ४३ स्थान मध्यमदेखि उच्च पहिरो जोखिममा रहेकाले सडक विभागले मुग्लिन र सेती दोभानमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP