पालुङटारमा ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

पालुङटारमा ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

गोरखा, । पालुङटार नगरपालिकाको आर्थिक सहयोग, लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा तथा रेड मिडिया प्रालिको सहकार्यमा सञ्चालित ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ।

उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आलेमगरको अध्यक्षता, पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको प्रमुख आतिथ्यता तथा उपप्रमुख बन्दना पाण्डेको विशेष आतिथ्यतामा आयोजित समापन कार्यक्रममा तालिममा सहभागी ४७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालिम उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको समेत उपस्थिति रहेको थियो।

सात दिनसम्म सञ्चालन भएको तालिममा रेड मिडिया प्रालिकी अध्यक्ष तथा प्रमुख प्रशिक्षक विष्णुमाया पौडेल तथा सहप्रशिक्षक आरबी केसीले प्रशिक्षण प्रदान गरेका थिए। समापन कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी रामचन्द्र देवकोटाले गरेका थिए।

तालिममा सहभागीमध्ये बुधराम गुरुङ, निर्मलकुमार श्रेष्ठ, सपना तामाङ र रामचन्द्र देवकोटा उत्कृष्ट प्रशिक्षार्थी घोषित हुँदै सम्मानपत्रद्वारा सम्मानित भएका थिए। उनीहरूले सहभागीहरूको तर्फबाट तालिमका अनुभव तथा सिकाइका उपलब्धिबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विवस चिन्तनले प्रभावकारी सञ्चार कला, नेतृत्व क्षमता र आत्मविश्वास विकासका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण हुने बताए। उनले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर समाज र समुदायको विकासमा योगदान पुर्‍याउन सहभागीहरूलाई आग्रह गरे।

विशेष अतिथि उपप्रमुख बन्दना पाण्डेले तालिमले व्यक्तित्व विकाससँगै नेतृत्व क्षमताको अभिवृद्धिमा सहयोग पुर्‍याएको बताउँदै महिलासहित सबै वर्गका नागरिकलाई यस्ता अवसरहरू उपलब्ध गराउन नगरपालिकाले निरन्तर सहयोग गर्ने बताइन्।

कार्यक्रमका अध्यक्ष मानबहादुर आलेमगरले उद्योग वाणिज्य संघले स्थानीय स्तरमा क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सहभागीहरूको उत्साह र सक्रियताले कार्यक्रम सफल बनेको बताए।

प्रमुख प्रशिक्षक विष्णुमाया पौडेलले सात दिनको अवधिमा सहभागीहरूमा देखिएको परिवर्तन र आत्मविश्वास उल्लेखनीय रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई निरन्तर अभ्यासमार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

सहभागीहरूको तर्फबाट व्यक्त गरिएको भनाइमा तालिमले सार्वजनिक बोल्ने कला, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सहभागितामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको थियो।

कार्यक्रमको अन्त्यमा उद्योग वाणिज्य संघ तथा सहभागीहरूको तर्फबाट प्रशिक्षकद्वय विष्णुमाया पौडेल र आरबी केसीलाई मायाको चिनो तथा विशेष उपहार प्रदान गरी सम्मानसहित बिदाइ गरिएको थियो। उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सूर्यमान श्रेष्ठले कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP