छोरी जन्माउन १६ हप्ता बिदा लिने महिला मेयर आइन विवादमा, राजीनामासम्मको माग

छोरी जन्माउन १६ हप्ता बिदा लिने महिला मेयर आइन विवादमा, राजीनामासम्मको माग

काठमाडौ ।जापानमा एक महिला मेयरले मातृत्व बिदा लिएको विषय राष्ट्रिय बहसको विषय बनेको छ। जापानको यवाता सहरकी ३५ वर्षीया मेयर शोको क्वाताले सन्तान जन्माउन १६ हप्ताको मातृत्व बिदा लिएपछि उनी विवादको केन्द्रमा परेकी छन्।

सेप्टेम्बरमा सन्तान जन्मिने अपेक्षा गरिएकी क्वाता हाल मातृत्व बिदामा रहेकी छन्। उनी जापानमा मातृत्व बिदा लिने पहिलो मेयर तथा पहिलो महिला राजनीतिक नेताका रूपमा चिनिएकी छन्। जापानकै सबैभन्दा कान्छी मेयरसमेत रहेकी उनले मे महिनामै आफू मातृत्व बिदामा जाने घोषणा गरेकी थिइन्।

तर उनको निर्णयलाई लिएर राजनीतिक वृत्तमा चर्को आलोचना सुरु भएको छ। केही पुरुष सहकर्मी र राजनीतिक प्रतिद्वन्द्वीहरूले मेयरको जिम्मेवारी सम्हाल्ने व्यक्तिले यति लामो समय बिदामा बस्न नहुने तर्क गर्दै उनको राजीनामासमेत माग गरेका छन्।

जापानी सञ्चारमाध्यमहरूले यो विषयलाई प्रमुख समाचारका रूपमा प्राथमिकता दिएका छन् भने सामाजिक सञ्जालमा पनि उनको निर्णयबारे तीव्र बहस भइरहेको छ। कतिपयले यसलाई महिला अधिकार र समान अवसरको विषयका रूपमा हेरेका छन् भने आलोचकहरूले सार्वजनिक पदमा बसेर लामो बिदा लिनु उचित नभएको बताएका छन्।

जापानमा गर्भवती महिलाहरूलाई १४ हप्तासम्मको मातृत्व बिदाको कानुनी व्यवस्था भए पनि महिला राजनीतिक नेताहरूका लागि यस्तो अधिकार स्पष्ट रूपमा उल्लेख गरिएको छैन। यही कारण क्वाताको निर्णय कानुनी र सामाजिक बहसको विषय बनेको हो।

क्वाताले भने आफूले कुनै कानुन उल्लङ्घन नगरेको बताएकी छन्। उनका अनुसार कुनै कानुनमा मेयर वा महिला राजनीतिक नेताले मातृत्व बिदा लिन नपाउने व्यवस्था छैन। उनी आफ्नो कदममार्फत महिला नेताहरूका लागि मातृत्व अधिकारको स्पष्ट कानुनी व्यवस्था स्थापित गर्न र नयाँ नजिर बसाल्न चाहेको बताउँछिन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP