देशभर सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, सरकारको आकस्मिक निर्णय

देशभर सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, सरकारको आकस्मिक निर्णय

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा तत्काल रोक लगाउने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले जारी गरेको पत्रअनुसार अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधन (विद्युतीय सार्वजनिक सवारी समेत) को नयाँ दर्ता रोक्ने निर्णय गरिएको हो।

विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दै गएको उल्लेख गरेको छ। साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा देखिएको अव्यवस्था र यात्रु आवागमनमा परेको असरलाई समेत निर्णयको आधार बनाइएको छ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा (३) प्रयोग गर्दै सार्वजनिक हितका लागि दर्ता रोक्न सकिने कानुनी व्यवस्था अनुसार निर्णय गरिएको जनाएको छ।

विभागका अनुसार प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित कार्यालयलाई पत्राचार गरी सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

यो निर्णयले सार्वजनिक यातायात व्यवसाय, नयाँ लगानी योजना तथा यातायात क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। अब सरकारले वैज्ञानिक व्यवस्थापनको नयाँ मोडेल ल्याउने वा दर्ता रोकको अवधि कति रहने भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP