अख्तियारको छानबिन अन्तिम चरणमा पुग्दा एमालेद्वारा करिब चार करोड राज्यकोषमा फिर्ता

अख्तियारको छानबिन अन्तिम चरणमा पुग्दा एमालेद्वारा करिब चार करोड राज्यकोषमा फिर्ता

काठमाडौं।गैरकानुनी रूपमा वितरण गरिएको भनिएको रकमबारे अनुसन्धान अन्तिम चरणमा पुगेका बेला नेकपा एमालेले करिब तीन करोड ९० लाख रुपैयाँ राज्यकोषमा फिर्ता गरेको विषय सार्वजनिक भएको छ। स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भीभीआईपी उपचार शीर्षकमा खर्च गरिएको रकम राज्यको ढुकुटीमा जम्मा गरिएको हो।

उच्च स्रोतका अनुसार सरकारले त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको वैदेशिक उपचारमा दुई करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो। त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ८१ लाख र पूर्वराष्ट्रपति रामवरण यादवलाई ७० लाख रुपैयाँ उपलब्ध गराइएको थियो।

उक्त रकम कानुनविपरीत खर्च गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन अघि बढाइरहेको थियो। अनुसन्धान अन्तिम चरणमा पुगेका बेला रकम फिर्ता गरिएको घटनाले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

स्रोतका अनुसार रकम फिर्ता गरेपछि कारबाहीबाट जोगिन सहज हुन सक्ने मूल्यांकनका बीच यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि एमाले नेताहरूले यस विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको र शुक्रबार बोलाइएको सचिवालय बैठकमा यसबारे छलफल हुन सक्ने बताएका छन्।

यस घटनापछि अहिले राजनीतिक वृत्तमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ— यदि खर्च कानुनअनुसार गरिएको थियो भने रकम किन फिर्ता गरियो? र यदि खर्च गैरकानुनी थियो भने त्यसको जिम्मेवारी कसले लिने?

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP