निम डिक्की शेर्पा–अनिता कार्की सगरमाथा शिखरमा, सशस्त्र प्रहरीमा नयाँ इतिहास

निम डिक्की शेर्पा–अनिता कार्की सगरमाथा शिखरमा, सशस्त्र प्रहरीमा नयाँ इतिहास

काठमाडौ ।सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आइतबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै सशस्त्र प्रहरी बलमा नयाँ इतिहास रचेका हुन्।

सशस्त्र प्रहरी बलका अनुसार सहायक हवल्दार अनिता कार्की     मे १७ तारिखमा  बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकी थिइन् भने सहायक निरीक्षक निम डिक्की शेर्पा बिहान ११ बजेर ५५ मिनेटमा सफलतापूर्वक शिखरमा पुगेकी थिइन्। उनीहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही बनेका छन्।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–माबुमा जन्मिएकी निम डिक्की शेर्पा तथा राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई थप उचाइमा पुर्‍याएका छन्।

दुवै आरोही पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्ष मानिन्छन्। उनीहरूले यसअघि मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्।

निम डिक्की शेर्पाको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए भने अनिता कार्कीको अभियानमा टासी ग्याल्जेन शेर्पाले साथ दिएका थिए।

उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बलभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित र उत्साहित बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP