गृहसचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह दिए

गृहसचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह दिए

काठमाडौं।गृहसचिव राजकुमार श्रेष्ठ ले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल लाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार पदोन्नति भएका पौडेललाई औपचारिक रूपमा सुशोभन गरिएको हो।

 

समारोहमा गृहसचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई बधाई दिएका छन् र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले संगठनभित्र पेशागत दक्षता र क्षमताको अभिवृद्धि गर्नुपर्ने बताएका छन्। साथै सरुवा र बढुवा प्रणालीलाई निष्पक्ष र अनुमानयोग्य बनाउन निर्देशन दिएका छन्। सरुवा प्रणाली र वृत्तिविकासलाई व्यवस्थित गर्न सके असन्तुष्टि र गुनासा कम हुने बताएका छन्।

उनले सशस्त्र प्रहरी बलले सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी काम गरिरहेको बताएका छन्। आगामी मनसुनजन्य विपद्मा पूर्वतयारीसहित उद्धार, राहत र व्यवस्थापनमा सक्रिय रूपमा जुट्न निर्देशन दिएका छन्।
नवनियुक्त महानिरीक्षक पौडेलले नेपाल सरकार मन्त्रिपरिषद् र गृह मन्त्रालयप्रति आभार व्यक्त गरेका छन्।

 उनले सशस्त्र प्रहरी बलको नेतृत्व केवल औपचारिक जिम्मेवारी नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने दायित्व भएको बताएका छन्। उनले संविधान, कानून र राष्ट्रिय हितलाई केन्द्रमा राखेर इमान्दारिता, निष्पक्षता र दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षा सुदृढ गर्ने, संगठनलाई नीतिगत र संस्थागत रूपमा मजबुत बनाउने बताएका छन्। मानव संसाधन विकास, आधुनिक प्रविधिको प्रयोग र नतिजामुखी कार्यशैली अपनाउने बताएका छन्। उनले सरकारको १०० बुँदे शासकीय सुधार योजनाअनुसार सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने बताएका छन्।

समारोहमा नेपाल प्रहरीका महानिरीक्षक, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू, गृह मन्त्रालयका सहसचिवहरू तथा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ओली भन्छन्– “मेरो सम्पत्ति खरानी भइसक्यो, विवरण दिन्नँ”
21 घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई आफूले कुनै पनि अवस्थामा बय ...

छुटाउनुभयो कि ?

TOP