काठमाडौं मङ्सिर २६- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै भिजिट भिसामा विदेश गएका नेपालीमध्ये ठूलो संख्यामा स्वदेश नफर्केको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो अनुसन्धानले पुष्टि गरेको छ। आयोगले टिआइएमा श्रृङ्खलाबद्ध सेटिङ र भ्रष्टाचारमार्फत मानव तस्करीजस्तै गतिविधि भएको ठहर गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ।
अख्तियारका अनुसार २०८१ असोज २३ देखि २०८२ जेठ ७ सम्म आठ महिनाको अवधिमा भिजिट भिसामा १ लाख ५३ हजार ९७४ नेपाली विभिन्न मुलुक गएका थिए। तीमध्ये ४२ हजार ३५७ जना श्रमका हिसाबले जोखिमपूर्ण मानिने यूएई, ओमान, कतारलगायतका मुलुक पुगेका छन्। विदेश गएकामध्ये १६ हजार ७६९ महिला सहित ३३ हजार २२९ जना २०८२ साउन २९ गतेसम्म स्वदेश नफर्केको अध्यागमन कार्यालयले अख्तियारलाई उपलब्ध गराएको विवरणले देखाएको छ।
उक्त अवधि टिआइएको प्रमुख अध्यागमन अधिकृतको रूपमा तीर्थराज भट्टराई पदस्थ रहे। भट्टराईका कार्यकालमै भिजिट भिसामा अस्वाभाविक रूपमा ठूलो संख्यामा नेपाली पठाइएको तथा उनीहरू नफर्किएको देखिएपछि अख्तियारले उनीविरुद्धको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको हो।
अख्तियारले भट्टराईले बदनियतपूर्वक बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्का, कविता पौडेल र खेमप्रसाद सुवेदीसँग मिलेर कम्तीमा २५७ नेपालीलाई सेटिङमार्फत विदेश पठाएको निष्कर्ष निकालेको छ। अनुसन्धानले भिजिट भिसामा विदेश पठाउन प्रतिव्यक्ति महिलाबाट ४० हजार र पुरुषबाट २० हजार रुपैयाँ सेटिङ रकम असुलिने गरेको समेत खुलाएको छ।
भिजिट भिसामा विदेश जानुपर्ने यात्रुहरूको ‘भोइड’ हुने टिकट एउटै ‘प्यासेन्जर नेम रेकर्ड (PNR)’ मा दुईवटा बनाएर प्रस्थान अनुमति दिने गैरकानुनी अभ्यासमा अध्यागमन अधिकारी र ग्राउन्ड ह्यान्डलिङ कर्मचारीहरू समेत संलग्न देखिएको अख्तियारले जनाएको छ। आयोगले यसका लागि छुट्टै विस्तृत अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ।
नेपालको विमानस्थल प्रयोग गरी तेस्रो देश जाने भारतीय नागरिकले अनिवार्य नो अब्जेक्सन सर्टिफिकेट (NOC) लिनुपर्ने व्यवस्था छ। तर भट्टराईकै कार्यकालमा सेटिङमार्फत एनओसीबिना नै भारतीय नागरिकहरू तेस्रो मुलुक पठाइएको प्रारम्भिक तथ्याङ्कले देखाएको अख्तियारले जनाएको छ। यो प्रक्रियामा कति भारतीय नागरिक पठाइए, कति रकम उठाइयो र रकम कहाँ–कहाँ पुग्यो भन्नेबारे छानबिन जारी छ।
अख्तियारले भिजिट भिसाको दुरुपयोगमार्फत टिआइएमा संगठित रूपमा मानव तस्करी र भ्रष्टाचार भएको देखिएकाले अध्यागमन कार्यालय, ग्राउन्ड ह्यान्डलिङ निकाय तथा ट्राभल एजेन्सीका संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाहीका लागि प्रमाण संकलन जारी रहेको जनाएको छ। आयोगका अनुसार यस्ता गैरकानुनी गतिविधिले राज्य संयन्त्रको विश्वसनीयता गम्भीर रूपले कमजोर बनेको छ।
काठमाडौं पुस २७- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!