कांग्रेसमा खुला टकराव : संस्थापनको अस्वीकारबीच आज भृकुटीमण्डपमा विशेष महाधिवेशन, समानान्तर भेला पनि

काठमाडौं, पुस २७ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । पार्टीभित्र चुलिँदै गएको आन्तरिक शक्ति संघर्षका बीच विशेष महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि आज बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिने तयारी गरिएको छ । महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता गरिने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

नाम दर्ताका लागि परिचय खुल्ने आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ । साथै, नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।
विशेष महाधिवेशनको उद्घाटन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने तय भएको छ । उद्घाटन समारोहपछि आजै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व पार्टीका जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ ।

पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।

तर, पार्टीको संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । संस्थापन पक्षले आजकै दिन जिल्ला सभापति र युवा नेताहरूको छुट्टै भेला बोलाएर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

महाधिवेशन सोमबारसम्म चल्ने कार्यतालिका रहेको छ । महाधिवेशनका लागि देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निकालिने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशन र संस्थापन पक्षको समानान्तर गतिविधिले कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ । यसले पार्टीको आगामी राजनीतिक दिशा र नेतृत्व संरचनामा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP