काठमाडौं पुस २७- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरण अभियानका नायक शाहको योगदानको स्मरण गर्दै राजधानीदेखि गाउँ–गाउँसम्म श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिएको छ । शाहको जन्मजयन्तीका अवसरमा उनका दिव्योपदेशहरू विशेष रूपमा स्मरण गरिँदै आएको छ । ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उनको भनाइ आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छ ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ । सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको राप्रपाले जनाएको छ ।
शाहको जन्मस्थान गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
वि.सं. १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्ने अभियानको नेतृत्व गरेका थिए । सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बीच जनताको सहयोग र सहभागितामा उनले आधुनिक नेपालको जग बसालेका हुन् । वि.सं. १८३१ मा ५२ वर्षको उमेरमा उनकाे निधन भएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई मजबुत बनाउने सन्देश दिने गर्दछ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश यस दिवसले पुनः स्मरण गराउँछ । विशेषगरी युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्न यस दिवसको विशेष महत्व रहेको बताइन्छ ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सफल भएको मानिन्छ । भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उनले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिएका थिए, जुन भनाइ आज पनि कूटनीति र राष्ट्रिय हितका सन्दर्भमा उल्लेख गरिन्छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, स्वाधीनता र सुशासनप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन् ।
विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

प्रतिक्रिया